काठमाडौं। रुससँगको यद्धबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनलाई राजधानी किभमा भेट गरेका छन्।
रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न युक्रेनले अमेरिकासँग हतियार सहयोग मागिरहेका बेला ब्लिनकेन र अस्टिन युद्धग्रस्त युक्रेन पुगेका हुन्।
रुसी सेनाले पूर्वी बन्दरगाह सहर मारिअपोललाई कब्जा गरेको दाबी गरिरहेका बेला युक्रेनले रुसको प्रतिकार गर्न अमेरिकासँग शक्तिशाली हतियार मागिरहेको छ।
यसबीचमा युक्रेनको भ्रमणपछि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले गतिलो हतियार भएको खण्डमा युक्रेनले रुसलाई युद्धमा हराउने बताएका छन्।
उनले भनेका छन्,‘युद्ध जित्न सुरुमा युद्ध जित्छु भन्ने आत्मविश्वास हुनुपर्छ र गतिलो हतियार हुनुपर्छ।’
यसैबीच रुसविरुद्ध लड्न युक्रेनलाई अमेरिकाले थप ७१.३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ।
सोमबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरेपछि अमेरिकाबाट युक्रेनलाई थप सहयोग गर्ने प्रतिवद्धता आएको हो।
सीएनएनका अनुसार अमेरिकाले १६.५ करोड डलरको हतियार युक्रेनलाई बेच्ने सम्झौता पनि भएको छ। बीबीसी र एजेन्सीको सहयोगमा