धनगढीको प्रमुखमा व्यवसायी गोपाल हमालको मनोनयन दर्ता

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ३९


काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट गोपाल हमालले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज प्रमुख पदमा मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले धनगढीवासीको आवाजलाई प्रतिनिधित्व गर्न मनोनयन दर्ता गराएको प्रतिक्रिया दिए ।

उनले धनगढीवासीले विश्वास गरेर यस पटक प्रमुख पदमा निर्वाचित गराउने विश्वास पनि व्यक्त गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी सोही उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार थिए । त्यतिबेला उनी निकटतम प्रतिद्वन्द्वी बनेका थिए । यस पटक भने विजयी हुने उनले दाबी गर्दै आएका छन् ।

उनी व्यावसायिक पृष्ठभूमिका हुन् । यसअघि विवेकशील साझा पार्टीमा थिए । उक्त पार्टीबाट अलग भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्