काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई आज नगरपरिक्रमा गराउँदैछ। खेलाडीको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज दिउँसो उपत्यकाका विभिन्न स्थानको परिक्रमा गराउन लागेको हो।
पदक विजेतालाई काठमाडौँ, भक्तपुर र ललितपुरमा विभिन्न स्थानको परिक्रमा गराउने कार्यक्रम तय गरिएको छ। नगरपरिक्रमा बिहान ११ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुनेछ।
त्यसपछि न्युरोड, ईन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोवाटो, कोटेश्वर, जडिबुटी, नयाँ ठिमी, सल्लाघारी, सुर्यविनायक चोकको परिक्रम पछि पुनः सल्लाघारी, नयाँ ठिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ।
१३ औँ सागमा नेपाल ५१ स्वर्ण ६० रजत र ९५ कांस्यसहित २०६ पदक जित्दै पदक तालिकामा दोस्रो स्थानमा थियो। पदक विजेता खेलाडीलाई सरकारले बुधबार पुरस्कार राशीको घोषणासमेत गरिसकेको छ।