म्यानमारबाट आएका रोहिंग्या शरणार्थीले नेपालमा बनाए २३ टहरा

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : १४


म्यानमार । म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका छन्। स्थानीय सरकारलाई काम गर्ने मजदुरका रूपमा जानकारी दिएर धमाधम टहरा निर्माण गरिएको हो। उनीहरू त्यसअघि काठमाडौँमा बसोबास गर्दै आएका थिए।

‘कुशादेवीकै ठेकेदार रामेश्वर थापाले आफ्नो ठेक्कामा मजदुरी गराउने उद्देश्यले बसोबास मिलाएका हुन्’, रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले भने– काठमाडौँको बूढानीलकण्ठको कपनस्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका हौँ।’

सन् २०१८ पछि नेपालमा थप रोहिंग्या नआएका दाबी गर्दै उनले काठमाडौँमा भएका दुई समूहमध्ये आफ्नो समूह काम खोज्ने सिलसिलामा कुशादेवी आइपुगेको बताए। ‘कहींबाट सहयोग छैन, आफ्नै देशबाट निकाला भएका छौं, पेट पाल्नकै लागि यहाँ आएर टहरा बनायौं’, ऐसुपले थपे– ‘२०१३ देखि नेपाल आएर अधिकारका लागि लडिरहेका छौँ।

२०१८ सम्म ३ सय ५५ जना रोहिंग्या नेपाल आइसकेका छन्। २०१९ मा सरकारले कडाइ गरेकाले आउनसकेका छैनन्।’ठेकेदार थापाले २०७३ सालदेखि उनीहरूलाई काममा लगाउँदै आएका थिए। उनकै काका सत्यराम थापाको चार रोपनी जग्गा भाडामा लिएर थापाले उनीहरूको समूहलाई कुशादेवीमा ल्याएको हो। थापा ठेक्काको अलावा पेट्रोल व्यवसायी हुन्। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।


प्रतिक्रिया दिनुहोस्