नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १ : २०


काठमाडौँ । गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै एकमात्र राष्ट्रिय बसपार्कलाई गौरव गर्नलायक बसपार्क निर्माण गर्न लागिएको बताइएको हो। 

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले काठमाडौँ महानगरपालिकाको सम्पत्ति नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन लागेको बताउनुभयो । “नयाँ बसपार्कमा ‘पिक एण्ड ड्रप’को व्यवस्था गरेर नयाँ स्थानमा सवारी पार्किङ गर्ने स्थान निर्माण गर्ने लक्ष्य प्रालिले लिएको छ”, उहाँले भन्नुभयो। 

कामपा–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्कलाई व्यवस्थितरूपमा सञ्चालन गर्न महानगरपालिकाले ल्होत्से प्रालिसँग सहकार्य गरेर काम गरिरहेको उल्लेख गर्नुभयो । “नयाँ बसपार्क चाँडो नै नमूना बसपार्क बन्नेछ”, उहाँले भन्नुभयो । 

पाँच रोपनी क्षेत्रफलमा निर्माण गरिएको ल्होत्से मल साततलाको रहेको छ । उक्त मलमा पार्किङदेखि सपिङ सेन्टर, पार्टी प्यालेस, हेल्थ क्लब र फिल्महल रहेका छन् । आज शुभारम्भ गरिएको फिल्म हल आईएनआई ग्रुपले सञ्चालन गरेको छ । दुईवटा फिल्महल रहेको उक्त मलमा ४८० जनाको क्षमता रहेको आईएनआईका सञ्चालक सुरेन्द्र थापाले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्