हलिउड चलचित्र निर्माता हार्भी वाइन्स्टिन आफूलाई यौन दुर्व्यवहारको आरोप लगाएका दर्जनौँ महिलालाई लगभग दुई करोड ५० लाख डलर तिरेर विवाद मिलाउने सहमतिको नजिक पुगेको वकिलहरूले बताएका छन्। त्यो रकम लगभग ३० जना नायिका र उनका पूर्वकर्मचारीमा बाँडफाँट गरिनेछ। तर यसका लागि सम्बद्ध सबै पक्षले हस्ताक्षर गर्नुपर्नेछ। वाइन्स्टिनका वकिलले यसबारे प्रतिक्रिया जनाएका छैनन्।
सुनुवाइ
अर्को महिना बलात्कार र यौन दुर्व्यवहारका अभियोगमा वाइन्स्टिनविरूद्ध अलग-अलग सुनुवाइ हुँदैछ। दोषी ठहर भए हलिउड चलचित्र निर्माताले आजीवन जेल सजाय भुक्तान गर्नुपर्ने हुनसक्छ।बुधवार गोली गाँठोमा लगाइएको विद्युतीय निगरानी यन्त्रलाई ठीक ढङ्गले ध्यान नदिएको भन्दै वाइन्स्टिनविरुद्धको धरौटीको रकम १० लाख डलरबाट बढाएर ५० लाख डलर पुर्याइएको थियो।
उनले वाकरको सहायताले न्यूयोर्कको अदालतको सुनुवाइमा भाग लिएका थिए। उनका वकिलले अगस्टमा भएका कार दुर्घटनामा लागेका चोटको उपचारका लागि उनले बिहीवार शल्यक्रिया गराएको बताएका छन्।
सहमतिमा के छ?
सहमतिले अन्तिम स्वरूप ग्रहण गरिनसकेकोमा जोड दिइएको छ। सुरुमा द न्यूयोर्क टाइम्समा यसबारे खबर आएका थिए। तर वकिलहरूले अन्य अमेरिकी सञ्चारमाध्यमलाई पनि यसको पुष्टि गरेका छन्।
सहमतिका मुख्य बुँदामा भुक्तानी दिइने रकम विपक्षीहरूले बाँड्ने, वाइन्स्टिनविरूद्धका सबैजसो देवानी मुद्दाहरू फिर्ता लिइनुपर्ने लगायत छन्। उक्त रकम वाइन्स्टिनले व्यक्तिगत रुपमा तिर्ने छैनन् र वाइन्स्टिन कम्पनीलाई प्रतिनिधित्व गर्ने बीमा कम्पनीले तिर्ने भनिएको छ। सहमति अनुसार वाइन्स्टिनले आफूले गल्ती नगरेको धारणा अदालतमा राख्ने बताइएको छ।
यसमा अदालतको स्वीकृति आवश्यक पर्ने पनि उल्लेख गरिएको छ। कानुनी सेवा बापतको शुल्कसहित वाइन्स्टिन कम्पनीको उत्तरदायित्वका लागि चार करोड ७० लाख डलर खर्च हुने र विपक्षीहरूलाई दिइने भनिएको दुई करोड ५० लाख डलर त्यसैको अंश हुने उल्लेख गरिएको छ।
द न्यूयोर्क टाइम्स र अरू सञ्चारमाध्यमले सम्पर्क गर्ने प्रयास गरेपनि वाइन्स्टिनका वकिल र द वाइन्स्टिन कम्पनीका वकिलले कुनै पनि प्रतिक्रिया दिएका छैनन्। दर्जनौँ महिलाले आफूमाथि यौनशोषण र दुर्व्यवहार गरेको आरोप लगाउँदै सामूहिक रूपमा वाइन्स्टिनविरुद्ध मुद्दा दायर गरेका छन्।
आरोप लगाएका ग्विनिथ पाल्ट्रो र एन्जेलिना जोलीजस्ता अभिनेत्रीहरूले चाहिँ त्यस्तो कदम चालेका छैनन्।पछिल्लो खबरलाई लिएर मिश्रित प्रतिक्रियाहरू आउका छन्। वाइन्स्टिनविरुद्धको फौजदारी सुनुवाइ ज्यानुअरी ६ मा सुरु हुँदैछ। न्यूयोर्कमा सन् २०१३ मा एउटा होटलको कोठमा एक महिलालाई बलात्कार गरेको आरोप उनीविरुद्ध लगाइएको छ।
सन् २००६ मा अर्की महिलासँग जबरजस्ती यौनसम्बन्ध राखेको अर्को आरोप पनि उनले खेपिरहेका छन्। वाइन्स्टिनले आफूलाई यौन दुर्व्यवहार गरेको ७० जनाभन्दा बढी महिलाले आरोप लगाएका छन्। ६७ वर्षे चलचित्र निर्देशकले आफूविरुद्धका सबै आरोप अस्वीकार गरेका छन्।