काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक विवाद सतहमा आएको छ ।
रामचन्द्र पौडेल पक्षका नेताहरुले बिहीबारका लागि बोलाइएको केन्द्रिय कार्यसमिति बैठक बहिस्कार गरेसँगै कांग्रेसको विवाद सतहमा आएको हो ।
कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका बनाउने विषयमा कुनै प्रस्ताव नआएपछि बहिस्कार गरिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।
विधान अनुसार महाधिवेशनका लागि ३ महिनाको समय मात्रै बाँकी रहँदा पनि पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यतालिकाको एजेण्ड बैठकमा राख्न नमानेपछि बैठक बहिस्कार गरिएको उहाँको भनाई छ ।
मंसिर मसान्तभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गरिसक्ने यसअघिको निर्णय भएपनि त्यो नभएको उहाँले बताउनुभयो ।
पार्टीका आन्तरिक कामहरु समयमै सम्पन्न गरि पार्टीर्लाइ प्रभावकारी ढंगले एक भएर अगाढी बढ्नुपर्ने समयमा अरु अरु कुराहरु लिएर महाधिवेशन टार्ने नियत देखिएको उहाँको भनाई छ ।
बैठकम एजेण्ड मिलाएर जाँउ भन्दा पनि सभापति देउवाले नटेरेको उहाँले बताउनुभयो ।
मुल कुरालाई बैठकमा प्रवेश नै नगराउने तर विधानले गरेको व्यवस्था भन्दा अर्को व्यवस्था गर्न थालेपछि बैठकमा बस्नुको कुनै आवश्यकता नरहेको उहाँको भनाई छ ।
बैठकमा आफ्ना कुरा नसुनेर जसरी पनि बहुमतबाट पेलेरै जानुपर्छ भन्ने प्रवृति हाबी हुनु आपत्तिजनक भएको उहाँले बताउनु भयो ।
बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका बनाउने एजेण्डा नराख्दा सम्म सहभागि नहुने अडान पौडेलले लिनुभएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सुरु हुनु नै अन्त्य हुनु नभएको र प्रस्ताव आउनु नै पारित हुनु नभएको बताउनुभएको छ । बैठकमा सीमा अतिक्रमणका सन्दर्भमा पार्टीले पहिले नै आफ्नो आधिकारिक धारणा व्यक्त गरेपनि बैठकमा प्रस्ताव पेश भएको उहाँले बताउनुभयो ।
पार्टीको तेस्रो चरणको जागरण अभियान सञ्चालन, पार्टीका २८ वटा विभागहरु बढाएर ४१ बनाउने, उपनिर्वाचनको समीक्षा र तरुण दलले थप गरेको ६ महिनाको समय अनुमोदन गर्ने प्रस्ताव पेश गरिएको उहाँले बताउनुभयो । तेस्रो चरणको जागरण अभियान अन्तर्गत प्रदेश नम्बर १ को धरान, २ को जनकपुर, ३ को भरतपुरमा अन्तक्रिया आयोजना गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरि गण्डकी प्रदेशको दमौली, प्रदेश ५ को तौलिहवा, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा गर्ने गरि प्रस्ताव गरिएको प्रवक्ता शर्माले बताउनुभयो । माघ १६ गतेबाट २५ सम्म अभियान सञ्चालन गर्नेगरि छलफल सुरु भएको उहाँले बताउनुभएको छ ।
२०७४ को निर्वाचनको पूर्वसन्ध्यामा एकीकरणमा आएको नेपाल लोकतान्त्रिक फोरमका समायोजन गर्न बाँकी पार्टीका समिति र क्रियाशील सदस्यलाई कसरी समायोजन गर्ने भन्ने विषयको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रवक्ता शर्माले बताउनुभयो ।