चीनले यो सानो राष्ट्रसँग सुरक्षा सम्झौता गर्दा अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्ड तनावमा

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : १७


काठमाडौं। चीनले ७ लाख जनसंख्या भएको सोलोमन आइल्यान्डसँग सुरक्षा सम्झौता गरेपछि अस्ट्रेलिया, न्युजिल्यान्ड र अमेरिकाले चिन्ता व्यक्त गरेका छन्।

बीबीसीका अनुसार यसैहप्ता सोलोमन आइल्यान्ड र चीनबीच सम्झौता भएको हो। यससँगै प्रशान्त सागरमा चीनले सैन्य अड्डा खडा गर्नसक्ने भन्दै अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डले चिन्ता व्यक्त गरिरहेका हुन्।

यस सानो राष्ट्रलाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र अस्ट्रेलियाले अन्तिमसम्म पनि चीनसँगको सम्झौता हुन नदिने प्रयास गरेको थियो तर सोलोमन आइल्यान्डले नै नमानेपछि सो प्रयास असफल भयो।

त्यहाँका प्रधानमन्त्री मानासे सोगोवारेले चीनसँगको सुरक्षा सम्झौताले सो क्षेत्रको शान्ति र सद्भावमा कुनै असर नगर्ने बताएका छन्। उनले सम्झौताका शर्तहरु नखुलाउने उल्लेख गर्दै सम्झौता आफ्नै राष्ट्रको हितमा रहेको दाबी गरेका छन्।

यद्यपी चुहावट भएको जानकारीअनुसार सम्झौतामा चिनियाँ युद्धपोतलाई सोलोमन टापुमा बस्न दिइनेछ र बेइजिङले तनावको स्थितिमा सामाजिक व्यवस्था कायम गर्न त्यहाँ सुरक्षा बल पठाउन सक्नेछ। अष्ट्रेलिया सम्झौतामा यी विषय उल्लेख भएको बताउँछ।

यसअघि यही राष्ट्रले ताइवानसँगको ३६ वर्ष लामो कूटनीतिक सम्बन्ध तोडेर चीनको पक्ष लिएको थियो।

सोलोमन आइलैंड्स


प्रतिक्रिया दिनुहोस्