युक्रेनलाई थप हतियार पठाउँदै उसका सहयोगी, रुस भन्छः पश्चिमा राष्ट्रका कारण युद्ध लम्बियो

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १० : २२


काठमाडौं। रुसले पूर्वी युक्रेनमा आक्रमणको स्तर बढाएपछि युक्रेनका साझेदार मुलुकहरूले किएभलाई थप हतियारहरु पठाउने प्रतिबद्धता जनाएका छन्।

पश्चिमा नेताहरूबीच एउटा भिडिओ कलमार्फत्‌ भएको ९० मिनेट लामो कुराकानीका क्रममा अमेरिका र अन्य देशले गोलाबारुद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्री लगायतका सैन्य सहायता उपलब्ध गराउने वाचा गरेको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले गोलाबारुदसहित अतिरिक्त अस्त्रहरू दिने बताएका छन्।

बाइडन प्रशासनले युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गर्ने योजना बनाएको बताइएको छ।

यस्तै जर्मन चान्सलर ओलाफ शोल्जले ट्याङ्कभेदी तथा हवाई प्रतिरक्षा सामग्री खरिदका लागि युक्रेनलाई रकम उपलब्ध गराउने वाचा गरेका छन्।

ब्रिटेनले पनि पानीजहाजभेदी क्षेप्यास्त्र किएभ पठाउँदैछ। रुसले पूर्वी युक्रेनमा ताजा हमला थालेपछि प्रतिरक्षाका लागि सैन्य सहायता बढाउन युक्रेनले आफ्ना साझेदार देशहरूलाई आग्रह गर्दै आएको छ।

रुसले जतिसुकै सेना ल्याए पनि आफूहरू अन्तिम समयसम्म लडिरहने र प्रतिरक्षा गर्ने युक्रेनको भनाइ छ।

उता रुसले भने युक्रेनलाई सहयोग गर्ने मुलुकहरूले युद्धलाई लम्ब्याउन चाहिरहेको आरोप लगाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्