विवाह मण्डपमै प्रहरी पुगेपछि…

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  ४ : १५


प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ । 
    
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका–७ का रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापाको विवाह रोकिएको हो । 

गोप्य सूचनाका आधारमा प्रहरीले विवाहमण्डपमै पुगेर विवाह रोकेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताउनुभयो । बालविवाह गर्न खोज्ने बेहुला तथा बेहुलीतर्फका अभिभावकलाई केही समय नियन्त्रणमा लिई केटीको उमेर २० वर्ष नाघेपछि मात्र विवाह गर्ने सर्तमा छोडिएको उहाँले बताउनुभयो । 

कानुन अनुसार बालविवाह गर्ने र गराउनेलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तोकिएको छ । बालविवाह उद्योग गर्नेलाई १ वर्ष कैद र १५ हजार जरिवाना हुने उल्लेख छ । बालविवाह गर्दै आएकालाई अभिभावकको जिम्मामा छाडिने गरेको भएपनि अबदेखि कारबाही गरिने प्रहरी प्रमुख बुढामगरले बताउनुभयो। 

जनचेतनाको अभाव र मोबाइलमा बढेको विकृतिका कारण बालविवाह बढ्दै गएको उहाँको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्