तनहुँमा गठबन्धनमा किचलो, आ-आफ्ना अडानले दलहरुबीच दूरी बढ्दै

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : ५८


तनहुँ । तनहुँमा सत्ता गठबन्धन दलबीचको दूरी बढ्दो छ। भागबन्डाको किचलोले केन्द्रमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने सहमति भए पनि जिल्लामा सकस देखिएको छ। सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भागबन्डामा सहमति नहुँदा गठबन्धन नहुने सम्भावना बढेर गएको छ। भागबन्डामा दलहरु आ–आफ्नै अडानमा छन्।

कांग्रेसले अघिल्लो पटकको स्थानीय निर्वाचनमा पाँच वटा स्थानीय तहको प्रमुख उपप्रमुख दुवै पद र एकरएक स्थानीय तहमा प्रमुख र उपप्रमुख मात्रै जित हासिल गरेको थियो। अघिल्लो पटक आफूले जितेको स्थानीय तह कुनै हालतमा नछाड्ने कांग्रेसले अड्डी कसेको छ। त्यसमा पनि कांग्रेसले ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा प्रमुख उपप्रमुख दुवै पद नदिने निष्कर्ष कांग्रेसले निकालेको छ। आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा भने उपपप्रमुख गठबन्धन दललाई दिन तयार देखिन्छ कांग्रेस।

माओवादी केन्द्रले पनि अघिल्लो निर्वाचनमा जित हासिल गरेको बन्दीपुर गाउँपालिका सहित शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख आफूले पाउनुपर्ने अडान राखेको छ । शुक्लागण्डकीमा त पूर्व मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालालाई मेयर बनाउनलाई सर्वसम्मत निर्णय गरेर माओवादीले बार्गेनिङको चारो फ्याँकेको छ । तनहुँमा बन्दीपुर बाहेक पहिलो प्राथमकिता शुक्लागण्डकी रहेको माओवादीका नेता कार्यकर्ताहरु बताउँछन्।

एकीकृत समाजवादीले भानु, शुक्लागण्डकी र भिमाद नगरपालिकामा दाबी गरेको हो। तर, व्यासमा उपप्रमुख पाएको खण्डमा शुक्लागण्डकी छाडेर भानुमा पनि उपप्रमुख लिदैँ कम्परमाइज गर्ने माओवादीका एक नेताले बताए। समाजवादीले भने भिमाद र देवघाटमा प्रमुख चाहिने शर्त तेर्साएको छ।

अघिल्लो निर्वाचनमा दोस्रो ठूलो दल भएको हैसितयले भिमादको प्रमुख कांग्रेस आफैँले लिन चाहन्छ। जनता समाजवादी पार्टीले पनि कुनै एक स्थानीय तहको प्रमुख या उपप्रमुख पाउनुपर्ने माग राख्दै आएको छ । भागबन्डाको सकसले सत्तारुढ दलको गठबन्धन टुट्ने सम्भवना बढेर गएको छ। यद्यपि केन्द्रबाट हस्तक्षेप भएको खण्डमा भने गठबन्धन कायम रहने नेताहरु बताउँछन् । त्यस्तो अवस्थामा गठबन्धन दलबीच अन्तरघात हुने सम्भावना बढ्ने देखिन्छ।

भागबन्डाको टुंगो लगाउन गठबन्धन दल पटक पटक बैठक बसिरहेका छन्। तर विना निष्कर्ष टुंगिने गरेको छ । सोमबार पनि गठबन्धन दलको बैठक थियो। बैठक विना निष्कर्ष टुंगिएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए। पालिकाको भागबन्डा मिलाउन नसक्दा गठबन्धन नहुने सम्भावना बढेर गएको उनले बताए। ‘हामीले पहिला जितेको ठाउँ पनि उहाँहरुले माग्नुभो। हामीले हारेको मध्य पनि एउटा स्थनाीय तह पाउँछौँ होला भन्नेमा थियौँ’, उनले ‍ भने, ‘त्यो नपाएर हामीले जितेको पनि माग्नु भो। तसर्थ गठबन्धन नहोला जस्तो छ।’ गठबन्धनको प्रयास भने जारी रहेको उनले बताए । ‘सहमति हुन सक्छ । तर गठबन्धन दलबीच दूरी बढ्दै गइरहेको छ’, उनले भने । आ–आफ्नै अडान रहेको खण्डमा गठबन्धन कायम नरहने सचिव खनालले बताए।

कांग्रेसले अरु दलको साथ नलिइ कहीँ पनि निर्वाचन नजित्ने सत्तारुढ दल एकीकृत समाजवादीको जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ बताउँछन्। भिमादमा प्रमुखसँगै व्यास र भानुमा उपप्रमुख आफूहरुलाई नदिए गठबन्धन नहुने उनले बताए। अहिलेसम्म भएको छलफल गठबन्धनको मर्म अनुसार नभएको उनको भनाइ छ। एकीकृत समाजवादीका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठ भन्छन्, ‘केन्द्रमा सरकार टिकाउनलाई मात्रै गठबन्धन भएको देखिन्छ ।’ उनले जिल्लामा आफूहरु एक्लै निर्वाचनमा जान तयार रहेको बताए।

सत्तारुढ दल निर्णायक बिन्दुमा पुग्नलाई केही समय लाग्ने माओवादी केन्द्रकी केन्द्रिय सदस्य आशा कोइराला बताउँछिन्। ‘सबै आफ्नो अडानमा रहदाँ निष्कर्षमा नपुगेको हो। गठबन्धनमा सबै दल प्रतिबद्ध छौँ’, उनले भनिन् । चार वटै पार्टीको जित हुने गरी गठबन्धन हुने उनी बताउँछिन्। समझदारी नै हुन नसकेको खण्डमा भने एक्ला एक्लै भएपनि निर्वाचनमा जानुपर्ने उनको तर्क छ।


प्रतिक्रिया दिनुहोस्