चितवन सभापतिलाई देउवाले भने-भरतपुर माओवादीलाई छाड्नु पर्‍यो

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : ५७


चितवन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र चितवन कांग्रेसका सभापति राजेश्वर खनालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ।

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारको विषयमा कुरा गर्न देउवाले खनाललाई बालुवाटार बोलाएका थिए। भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएको चितवन कांग्रेस सभापति खनालले जानकारी दिए।

केन्द्रीय समितिको निर्णयलाई आफूले मान्ने तर कार्यकर्ताको भावना माओवादी केन्द्रलाई छाड्ने नरहेको आफूले देउवालाई बताएको खनालले जनाए।

‘सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुर माओवादीलाई छाड्नु पर्ने अवस्था आएको कुरा उहाँले भन्नुभयो,’ उनले भने, ‘मैले चाँही कार्यकर्ताको भावना यस्तो छैन। मैले केन्द्रीय समितिको निर्णय मानौँला, कार्यकर्तालाई मनाउन मैले सक्दिन, तपाइँले नै मनाउनुस् भनेको छु।’

देउवाले भरतपुरको मेयरमा माओवादीलाई सहयोग गर्न खनाललाई आग्रह पनि गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु महानगरभन्दा भरतपुरनै सजिलो हुने बताएकाले भरतपुरनै छाड्ने निर्णयमा देउवा पुगेका छन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रलाई सहयोग गरेको थियो । मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाल विजयी भएकी थिइन्।

त्यसपछि भएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सहयोग गरेको थियो। तर, पाण्डे निर्वाचित हुन सकेनन्। वाम गठबन्धनका उम्मेदवार प्रचण्ड विजयी भएका थिए।

 


प्रतिक्रिया दिनुहोस्