पोखराको मेयर नपाए एमालेसँग मिल्ने कास्की एसका अध्यक्षको धम्की!

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ९ : ५८


पोखरा। आगामी निर्वाचनमा गठबन्धन गर्ने विषयमा सोमबार कास्की चर्चामा रह्यो। कांग्रेस सचिवद्वयको विज्ञप्तिले बिच्किएको गठबन्धनमा अर्को एउटा समस्या थपियो।

घटना थियो एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यको वक्तब्य । उनले मेयर आफूले नपाए एमाले जानसक्ने धम्की दिए।

बैठकमा गठबन्धनका दलले अपमान गरिरहे एमालेसँग मिल्न सक्ने अध्यक्ष आचार्यले चेतावनी दिएको गठबन्धनका अरु सदस्यहरुले बताएका छन्। केन्द्रबाट कांग्रेस र एकीकृत समाजवादी दुवैले मेयरमा उम्मेद्वार उठाउने र माहोल हेरेर एउटाले फिर्ता लिने छलफल चलेको खबर पाएपछि आचार्यले उक्त प्रस्ताव ठिक नहुने बताएका हुन्।

‘माधवजीले कांग्रेस र एसका उम्मेद्वारले उम्मेद्वारी दिन लगाउने र जसको माहोल राम्रो हुन्छ, उसैलाई अगाडी बढाऔं भन्नुभएछ। त्यो कुरा मैले यहाँ सुनाएँ, र हुन्छ भनें,’ कांग्रेस सभापति किशोरदत्त बराल भन्छन्, ‘धनराज जीले नेताहरुलाई फोन गर्नुभयो। त्यसपछि नोमिनेसन नै गर्दिनँ। हामी कुनै पनि ठाउँमा दर्खास्त दिँदैनौं बरु एमालेसँग मिल्छौं भन्नुभयो।’

कांग्रेसले कास्कीमा एकीकृत समाजवादीसँग गठबन्धन गर्न नसकिने विज्ञप्तिनै जारी गरेर स्पष्ट पारेको छ।

 


प्रतिक्रिया दिनुहोस्