बिस्का जात्राको हात नभएको लिंगो ढालियो

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ३ : २७


भक्तपुर । भक्तपुरको बिस्का जात्राको क्रममा सोमबार हात नभएको ल्योसिंद्य (लिंगो) ढालिएको छ। प्रत्येक वर्ष पोटरी स्क्वायरमा जात्राको पहिलो दिन २७ चैत विहान उठाइने ल्योसिंद्य जात्राको अन्तिम दिन ५ वैशाख दिउँंसो ढाल्ने परम्परा छ।

स्थानीय टोलवासीहरू मिलेर ल्योसिंद्य ढालिएको हो। हात नभएको र तुलनात्मक रुपमा सानो हुने हुँदा यो ल्योसिंद्य ढाल्दा खतरा कम हुन्छ। बिस्का जात्राकै क्रममा भक्तपुरकै ल्योसिंद्य उठाउँंदा र ढाल्दा भने खतरा हुन्छ। ५५ हात लामो तथा हात भएका कारण उक्त ल्योसिंद्य उठाउन र ढाल्न खतरा हुने भएको हो। यही कारण उक्त ल्योसिंद्य उठाउँदा र ढाल्दा जात्रा आसपास पाँंच सात वटा एम्बुलेन्सहरू तयारी अवस्थामा रहने गर्दछ।

भक्तपुरको बिस्का जात्रा आठ रात नौ दिन चल्ने गर्दछ। भैरब र भद्रकालीको रथ तान्नु, ल्योसिंद्य उठाउनु र ढाल्नु, जिब्रो छेड्ने जात्रा, सिन्दूर जात्रा यहाँंको जात्राका मुख्य आकर्षणहरू हुन्। यी बाहेक पनि यहाँ योबीचमा धेरै स-साना जात्राहरू हुने गर्छन।

इतिहास एवं सँस्कृतिविद् डा। पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो।

तत्कालिन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए। तर, उपत्यकाको राजनैतिक विखण्डनलगायत १८२६ सालमा मल्लकालिन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो। तर, अहिले फेरि यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिस आउने गर्छन।


प्रतिक्रिया दिनुहोस्