वाणगंगामा ठूला पार्टीको लागि चुनौती बन्दै स्वतन्त्र उम्मेदवार न्यौपाने (अन्तरवार्ता)

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : ०९


कपिलवस्तु । वडा अध्यक्षको लागि एक्कासी उम्मेदवार बनेपछि थप चर्चामा आएका व्यक्ति हुन् पत्रकार चन्द्रकान्त न्यौपाने । उसो त आफैमा लुम्बिनी प्रदेशकै पब्लिक फेस हुन् न्यौपाने ।

पत्रकार हुँदाहुँदै एक्कासी जनप्रतिनिधि बनि जनताको सेवा गर्ने बाटोमा होमिएका न्यौपानेले जुनदिनदेखि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्ष पदमा लड्ने घोषणा गरे सोही दिनबाट उनी थप चर्चामा छन् ।

सोही वडाकै झुँगा गाउँका स्थायी बासिन्दा न्यौपाने राज्यको पुर्नसंरचनासंगै आएको स्थानीय सरकारसंगै काठमाण्डौँबाट आफ्नै जन्मस्थलमा सेवा गर्न फर्किए । त्यसपछि पछिल्लो ४ बर्षदेखि न्यौपाने सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जमा स्टेसन म्यानेजर र मायादेवी अनलाइन डटकममा प्रधान सम्पादक छन् भने रोटरी, लायन्स जस्ता बिभिन्न सामाजिक र मानवीय संस्थासंग जोडिएर पनि समाजसेवाको काम गरिरहेका छन् ।

कपिलवस्तुसहित बुटवल र काठमाण्डौँका राष्ट्रिय मिडियामा समेत काम गरेका वाक्कलाका धनी, स्पष्टवक्ता, खराब पात्र र प्रवत्तिविरुद्ध खरो उत्रने र अहिलेसम्म आफ्नो ब्यक्तित्वलाई दागरहित बनाएका न्यौपानेको उम्मेदवारीले अहिले त्यस क्षेत्रका ठुला पार्टीलाई नै टाउको दुखाईको विषय बनेको छ । चोकचोकमा उनको उम्मेदवारीको चर्चा हुने गरेको छ ।

यसै सन्दर्भमा दैनिक अनलाइनले वडा अध्यक्षका आकांक्षी न्यौपानेसंग छोटो कुराकानी गरेको छ।

कः तपाईलाई पत्रकारबाट एक्कासी वडाध्यक्ष बन्न मन किन लाग्यो ? छोटकरीमै भन्नुहोस् न।
धन्यबाद प्रश्नको लागिl  म छोटकरीमै भन्छु । म सानैदेखि समाजको लागि केही गर्नुपर्छ भन्ने भाव राख्ने व्यक्ति हुँ। जतिबेलादेखि जीवन बुझ्न थालेँ त्यो दिनदेखि नै मलाई ऐश्वर्य र पैसाभन्दा पनि सामाजिक काम गर्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो । अनि मलाई राजनीति पनि उत्त्किै राम्रो लाग्ने। राजनीतिक ज्ञान हासिल गर्न र सामाजिक काम गर्नको लागि मैले पत्रकारिता पेशा उत्तम विकल्प लागेर यो पेशा अपनाएँ । सक्रिय पत्रकारिता गर्न थालेको पनि १० बर्ष वितिसकेछ। अब त आफूलाई पनि अपग्रेड गर्नुपर्यो नि।

खः अपग्रेड त पत्रकारिता अनि अन्यत्र क्षेत्रमा पनि गर्न सक्नुहुन्थ्यो नि, किन जनप्रतिनिधि नै बन्न मन लाग्यो ?
हजुरले भनेको पनि सही नै हो। आज हेर्नुहोस् न मुलुक अहिले कुन स्थितिमा छ ? राजनीति कस्तो छ ? हामीले पाँच बर्ष अघि जिताएर पठाएका जनप्रतिनिधिले कसरी काम गरिरहेका छन् ? भ्रष्टाचार उस्तै बढेको छ। यो सारा देख्दा चिन्ता लाग्छ। अनि सोच्छु आफै यस्तो किन भयो भनेर ? विश्लेषण गर्दै जाँदा मुलुक अधोगतिमा जानु र स्थानीय सरकारका जनप्रतिनिधिले काम गर्न गर्न नसक्नुको एक मात्र कारण असल चरित्र र कुशल नेतृत्वको अभाव हो। नेताले पनि चुनावमा टिकट सही मान्छेलाई दिँदैनन्। हाम्रो निर्वाचन प्रणाली पनि महंगो र भड्किलो छ । खराब पात्रले रातारात पैसा बाँडेर, रक्सी र मासु ख्वाएर मत प्रभावित बनाउँछन्। अहिले पनि त्यो क्रम दोहोरिने पक्का छ।

यसो पार्टीका सम्भावित उम्मेदवार हेर्छु। उनीहरु पनि उस्तै छन्। यस्तो अवस्थामा त केही रेभुलोसन त ल्याउनै पर्यो नि हामीजस्ता पढेलेखेका युवाले । अब पनि खराब प्रवृत्तिलाई नै मत खसाल्ने ? के यो समाजमा पढेलेखेका, असल आचार भएका सही पात्र छैनन् ? अनि पत्रकार भनेका केवल लेख्ने र बोल्ने मात्र गर्न सक्ने ब्यत्ति हुन् र ? पत्रकारले पनि मुलुकको नेतृत्व गर्ने ल्याकत राख्छन् भन्ने उदाहरण पेश गर्न मैले एक्कासी यो खालको अपग्रेड खोजेको हुँ । अन्यत्र अपग्रेड भएर आफू बनिएला तर मुलुक बनाउने अपग्रेड सायदै हुन्न । यो मुलुक बनाउने खालको अपग्रेड हुनेछ । त्यसको लागि वडाबाट सुरौँ भनेर हिम्मत गरेको छु ।

गः अनि तपाई स्वतन्त्रबाटै किन उठ्नु भयो त?
मैले अघि भनिसकेँ यो देशमा असल मान्छेले राजनैतिक नेतृत्वको स्पेश पाउँदैन । सक्षम ब्यक्ति राजनैतिक रुपमा अगाडी बढ्न सक्दैनन् । स्पेश भनेको नेतृत्व हो । नेतृत्वपंतीमा पुरै देश खाने भ्रष्टहरु छन् । अहिलेलाई यहाँका ठुला पार्टीका नेता हेर्नुहोस् न । को रहेछ र मुलुकमा सच्चा देशप्रेम भएका मानिस । माथिदेखि तलैसम्म यो खालको नेतृत्व छ । पाटीभित्रका केही ब्यक्तिले म गर्न सक्छु ठाउँ देऊ भन्दा उनीहरु नै पछि पर्छन् । पार्टीभित्रका खराब पात्रले असल चरित्रहरु ओझेलमा परिरहेका छन् । त्यो संजालमा अब हामीले ठाउँ पाउनेवाला छैनौँ । त्यसो भन्दा सुरुवात आफैबाट गरौँ न भनेर एक्कासी स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ । किनकि विश्वभरको माहौल् परिवर्तन भइरहेको छ । अब मतदाता पनि सचेत भइसके । अब उम्मेदवारी नदिए यो अवसर कुर्न फेरि पाँच् बर्ष कुर्नुपर्दछ । खराब प्रवृत्तिका मानिसले फेरि नेतृत्व पाए भने त हामी झनै पछाडी पर्नेवाला छौँ होइन र ?

घः तपाई त कुनै पार्टीमा पनि प्रवेश गर्नु भएको थियो, अचानक युटर्न किन हुनुभयो?
हो, यसलाई नकार्न मिल्दैन । २०७६ पुसमा मुलुकमा संसद विघ टन भयो । तयो संविधान अनुकुल थिएन । तत्कालिन सरकारको यो कदमविरुद्ध मुलुकभरका पत्रकार, मानवअधिकारकर्मी, बुद्धिजिवी, न्यायमूर्तिहरु राजनैतिक दल एकगठ थिए । त्यसैको बलमा सर्वोच्च अदालतले पनि त्यो कदम ठिक ठानेन र पुनः संसद पुर्नस्थापना ग्यो । त्यसपछि म पत्रकारिताबाट राजनीतिमा मोडिएँ । त्यसपछि मेरो खबर थाहा पाएर धेरैले बधाई र शुभकामना दिनुभयो । त्यो भन्दा धेरैले मलाई तपाईले चालेको कदम ठिक छैन । पत्रकारितामै तपाई अब्बल हुनुहुन्छ भनेर पनि मार्गदर्शन गर्नुभयो । त्यसपछि केही समय मलाई अलिकति गारो पनि भयो । सबै राजनैतिक द ल उस्तै लाग्यो । सबै दल र त्यहाँका दलमा पदलोलुप प्रवृत्ति जकडिएको हुने रहेछ । देशप्रेम र मुलुक बनाउने भाव कुनै दलमा देखिन र तुरुन्त राजनिितमा नलाग्ने घोषणा गरेँ र तपार्यले भनेको पार्टीबाट हात धोएँ । अहिलेलाई यत्ति बुझ्नुहोस् न ।

ङः कतिपयले त यो एकिकृत समाजबादीको रणनीति पनि हो भन्छन् नि?
भन्नलाई त समाजले जे पनि भन्छ नि । मेरो उम्मेदवारीपछि बजारमा चलेका सबै हल्लालाई मैले सकारात्मक लिएको छु । मलाई कसैप्रति नेगेटिभ टिप्पणी गर्नु छैन । मैले पार्टी परित्याग गरिसकेको छु । त्यो पार्टीको कुनै पनि पदमा छैन । पार्टीमा प्रवेश गरेर केही पाठ पनि सिकेँ । तर समयमै मेरा हजारौँ दर्शक श्रोता र फ्यानहरुको सझावलाई ग्रहण गरेर पार्टी छोडेको छु । राजनीति गरौँला तर त्यो निकै पछिको कुरा हो । अझै ८ । १० बर्ष सक्रिय पत्रकारकै रुपमा हुने यहाँलाई विश्वास दिलाउँछु । पत्रकारिताबाट बनेको छविले नै मैले स्वतन्त्र उम्मेदवारको आँट बनाएको हुँ । राजनैतिक दलले जकडिएको यो मानसिकतामा यो मेरो दुस्साहस नै हो । मैले समयमा नै पार्टी छोड्ने निर्णय गरेँ । यहाँनेर सबैले राम्रो मान्नु भएको छ ।

चः तपाईको उम्मेदवारीपछि कस्तो प्रतिक्रिया पाउनु भएको छ?
प्रतिक्रिया राम्रो छ । मेरो पत्रकारिताको १० बर्षे यात्रामा मैले गाउँ, समाज र देशलाई के दिएको छु रहेछु भन्ने कुरा उम्मेदवारीपछि बुझ्ने मौका पाएँ । एक दुई जनाले अपोजिसनमा प्रतिक्रिया दिए पनि मलाई चिन्ने ९८ प्रतिशत आमा बुबा, दाजुभाइ, दिदीबहिनी र शुभच्छुकहरुले पछाडी नहट्न ढाढस दिनुभएको छ । ठुलै पार्टीका जिम्मेवार पदमा बस्ने ब्यक्तिले पनि तपाई अन्तिमसम्म लड्नू हाम्रो साथ छ भन्नुभएको छ । धेरै जनसमुदाय राजनीतिबाट वाक्क हुनुभएको पाएँ । कतिपयले गणतन्त्रपछिको १६ बर्ष खेरै गयो पनि भन्नुभयो । अनेक सपना देखाएर जितेर गएका जनप्रतिनिधि एकपटक पनि घर कस्तो छ भनेर आएनन् । सबै भ्रष्टाचारमै रुमल्लिएजस्तो लाग्यो । अब विचार फेर्नुपर्छ । नयाँ अनुहार र सक्षम ब्यक्ति आए भोट दिन्छौँ भन्नुभएको छ । अझै स्थानीय तहको निर्वाचनमा र मुख्य गरी वडाध्यक्ष त पार्टीका भन्दा पनि योगय ब्यक्ति छान्ने हो । तपाई को बारेमा जे जति बुझेका छौँ । राम्रो छ, लाग्नुहोस् । हाम्रो साथ छ भन्नुभएको छ । समग्रमा म उत्साहित छु ।

छः तपाईको जितको आधार के हो ? त्यहाँका चर्चा चलेका उम्मेदवार कस्ता छन् ?
मेरो जितको आधार मेरो व्यक्तित्व, इमान्दारिता र कसैको चाकडीबाज नगर्नु हो। पत्रकारिताको १० बर्षे इतिहासमा मैले कहिल्यै पनि आफ्नो पेशालाई दुरुपयोग गरिनँ । अहिले त पत्रकार भन्न पनि लाज लाग्छ। मुलुकभरमा सिमिति बाहेकका पत्रकार बदनाम छन्। पैसाको लागि जे पनि गर्दिन्छन् । जे पनि लेख्दिन्छन् । पत्रकार रक्सी र मासुमा विके । पत्रकारहरुले कुनै अमुक ब्यक्तिको चाकडीमा लागेर आफूलाई विगारे । यो देखि म अहिले दिक्क नै छु।

त्यस बदनामीभित्र म अहिलेसम्म चोखो नै छु । मानिसले मेरो ब्यक्तित्वमा प्रश्न उठाउने सामथ्र्य राख्न सक्दैन । मेरो पेशामा एक जनाले पनि प्रश्न गर्न सक्नुहुन्न यो इमान्दारिता मेरो स्ट्रेन्थ हो । साथमा मसंग नेतृत्व वगर्ने क्षमता छ । म हरेक कुरामा नयाँपन खोज्छु । मसंग भिजन छ । जति भिजन भए पनि, जतिसंस्थामा काम गरेको छु भने पनि यदि तयो ब्यक्ति खराब आचरणको छ भने भिजनले केही गर्दैन । सबैभन्दा पहिले ब्यक्ति इमान्दार र समाजले ग्रहण गर्न सक्ने खालको हुनुपर्दछ । त्यो इमान्दारिता र सक्षमता ममा छ । वडा विकास गर्ने योजना छ मसंग । अनि मलाई मेरो वडाका अधिकांस मानिसले चिन्नु पनि हुन्छ । त्यति अपरिचत पनि होइन म, मलाई देखेर नचिने पनि आवाजबाट सबैले चिन्नुहुन्छ भन्ने विश्वास छ ।

नेतृत्वको कुरा गर्ने हो भने मेरै नेतृत्वमा सामुदायिक रेडियो मायादेवी चलेको छ । लाखौँ लगानीमा रेडियो खुलेको रहेछ । तर राम्रो ब्यवस्थापक र टिम नभएपछि एक दुई बर्षमै बन्द भएको थियो । यो थाहा पाएपछि आफ्नै समाजको लागि केही गरौँ भनेर सो बन्द रेडियो चलाउन काठमाण्डौँको पत्रकारिताबाट फर्किएँ । एउटा टिम बन्यो चार बर्षदेखि रेडियो रफ्तारमा चलिरहेको छ । समाजका ब्यक्तिले उत्कृष्ट रेडियोको रुपमा ग्रहण गरिरहेका छन् । यहाँ १२ जनाभन्दा बढीले अहिले पनि रोजगारी पाइरहेका छन् ।

यति मात्र होइन कोरोनाको कहरमा समाचार सम्प्रेषणको लागि लुम्बिनी प्रदेशभर पुग्यौँ । कोभिडमा आइसोलेसन बेड बेड नपाएर एक जना सर्वसाधारण बाणगंगाबाट हिँडेर बुटवल जानुपर्यो, जनप्रतिनिधि मोटर चढेर गए । यसलाई हामी मुल खबर बनायौँ । हाम्रै समाचारको कारण बाणगंगा नगरपालिकाको वैठक नै बस्यो । नगर सभामा पटकपटक मैले जनप्रतिनिधिका गलत कामविरुद्ध बोलेको छु । जसका कारण उनीहरु मसंग रिसाए । यस्ता धेरै छन् । मिडियाबाट अभियान चलाएर केही व्यक्तिको ज्यान बचाउन पनि भूमिका खेलेको छु । त्यसका उदाहरणको रुपमा दुवै मिर्गौला पीडित वडा नम्बर ४ का हरि न्यौपाने र मस्तिष्क तथा नशा रोग लागेकी वडा नम्बर ८ की अनिता विक हुन् । कोभिडमा १५ । २० लाख रुपैयाँ जम्मा गरेर उपचार गरी निको बनाउन म र मेरो संस्थाले भूमिका खेल्यौँ । अरु धेरै सामाजिक काम पनि गरेका छौँ । मुख्य कुरा म इमान्दार छु । त्यही इमान्दारिता नै मेरो जितको मुख्य कारण हुने छ ।

जः भिजनको कुरा गर्नुभयो, त्यो कस्तो भिजन हो?
अब यो अन्तरवार्तामा सबै कुरा कसरी भनौँ । नेपालको विकास नहुनुको प्रमुख कारण जे कुराको लागि नति बजेट छुट्टिएको छ । त्यसमा पुरै बजेट खर्च हुन नसक्नु । मानौँ ५० लाखको पुल बन्दै छ भने केही प्रतिशत ठेक्कापट्टा गर्नेको खल्तिमा, केही वडाधयक्ष, मेयर, कर्मचारीको खल्तिमा, केही चोचोमोचो मिलाउनेको खल्तिमा । अनि ३० लाखमा त्यो पुल बनाउनु पर्दछ । बाँकी २० लाख कहाँ गयो ? यस्तो पनि गर्न पाइछ जनताको पसनाले जम्मा गरेको करमा । कदापी गर्न पाईदैन । म यो विषयमा संवेदनशिल र कठोर हुनेछु । म एक पढेलेखेको युवा पनि हुँ । यसमा तलमाथि हुन दिन्नँ । स्वतन्त्रैबट जित हासिल गरेपछि कसको इसारामा चल्नुपर्यो र फेरि । त्यस्तो बदमासी गर्ने जोकोहीलाई पनि जनताकोमाझमा सार्वजनिक गर्नेछु । अरु शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगारी सिर्जना, कृषिको आधुनिकिकरण, सामाजिक र आर्थिक विकासको कुरा, बालबालिका, युवा, महिला, वृद्धवृद्धा, कृषक, ब्यापारी ब्यवसायी, किसान मजदुरलाई समेट्ने गरी योजना बनाउँदै छु ।
पार्टीका घोषणापत्रले मुलुक बन्दो रहेनछ । उसो हो भने त २०७४ सालमा बनाइएका घोषणा पत्रले मुलुक बन्थ्यो नि त । नियत खराब हुँदा राम्रो एजेण्डा पनि कार्यान्वयन गर्न सकेनन् दलले । किन कि नेतृत्व भ्रष्ट थियो, असल अचारका थिएनन् । त्यसैले घोषणा पत्र तपसिल हो, असल नियतको नेतृत्व प्रधान हो । म यही असल नियत लिएर चुनावमा होमिएको छु ।

झः काँग्रेस र एमालेको बर्चस्व भएको ठाउँमा तपाई स्वतन्त्र उम्मेदवार । कत्तिको डर लागिरहेको छ?
मैले अघि नै भनिसकेँ मुलकमा जारी राजनीतिले जनता वाक्क, दिक्क, प्याक्कछ छन् । नेता, मन्त्री, सांसद, प्रधानमन्त्री, जनप्रतिनिधि भ्रष्ट भए । मुलुक विकास भएन लामो समय । के यसको अनुभूति जनताले गरेका छैनन् ? मैले तपाईलाई नै सोधेँ तपाई पत्रकार यी नेता र यो व्यवस्थाबाट तपाई खुसी हुनहुन्छ ? पक्कै पनि हुनहुन्न । जनता पनि छैनन् । प्रतयेक दिन नेपाली लासहरु त्रिभुवन विमानस्थल हुँदै आउँछन् । यता आमाबुबा एक्लै छन् । देशमा केही ब्यापार ब्यवसाय गरिरहेकाहरु टाँट पल्टिसके । बैङ्कको ब्याज तिर्न सकिरहेका छैनन् । के यो कुरा पनि मानिसले टुलुटुलु हेरेर बसेका होलान् । दिनदिनै बलात्कार, हत्या हिंसा, असुरक्षा, अपराध बढिरहेको छ । के यो नेपाली जनताको लागि ग्राह्य होला । छैन । यो मुलुकको समस्या हो । त्यसमा बाणगंगा नगरपालिका र मेरो वडा पनि पर्छ । यहाँ त विकासको कुरा त परै जाओस् ५ बर्षमा फोहर उठाउने समेत काम भएन । उनै फेरि दोहोरिने भन्ने सुनेको छु । के अब पनि उनैलाई मेरो वडाबासीले भोट देलान् ?मलाई लाग्छ जनता अब सचेत भइसकेका छन् । त्यो मैले भेटघाटको क्रममा पनि बुझेको छु ।

अनि जति वडाध्यक्षको हल्लामा छन् मेरो वडामा ठुला पार्टीबाट । तिनीहरुप्रति जनताको भरोसा छैन । उनीहरु पैसाको खोलो बगाएर, रक्सी र मासुमा युवा र गरिबहरुको मत किनेर चुनाव जित्ने ध्याउन्नमा छन् । प्रचारअवधिभर यसको मैले भण्डाफोर गर्नेछु । जो मसंग प्रतिस्पर्धाको मैदाना छन् उनीहरुसंग म जुनसुकै किसिमको प्रतिस्पर्धा गर्न सक्छु । बुद्धिजिवी जनताले पनि मलाई सक्षम, केही भिजन भएको र इमान्दार उम्मेदवारको रुपमा लिनुभएको छ । भन्नुहुन्छ भने मेरो उम्मेदवारीले यहाँका ठुला दललाई दिनप्रतिदिन टाउको दुखेको छ । बजारभरी मेरो उम्मेदवारी र योग्यताको चर्चा चल्ने गरेको छ ।
जः अन्तिममा गएर उम्मेदवारी फिर्ता लिनुहुन्छ कि ? त्यो खालको दबाब पनि होला नि।
त्यस्तो सपनामा पनि सोच्न सक्दिन । मैले अहिलेसम्म बचाएको भनेको मेरो स्वाभिमान र इमान्दारिता नै हो । यदि त्यो गरेँ भने त यो समाजमा नबसे पनि भयो । मैले त्यो खालको घटिया काम गर्दिनँ । उम्मेदवारी फिर्ता गर्नु पर्ने प्रत्यक्ष, परोक्ष दबाब पनि आइरहेको छ । यसमा मेरो इज्जत र प्रतिष्ठासंग जोडिएको हुनाले अन्तिमसम्म लड्छु ।

ञ: तपाईले अहिलेसम्म कसरी प्रचार प्रसार गरिरहनु भएको छ ? कति खर्च गर्दै हुनहुन्छ त?

म मिडियाकर्मी भएको हुनाले मैले मिडियाथ्रु नै प्रचार गरिरहेको छु । म खर्च गर्ने पक्षमा छैन । खर्च गरेर चुनाव जित्ने त भ्रष्ट, असक्षम र घुसपैठ गर्नेहरुले हो । धनी ब्यापारी, ठेक्कापट्टावालासंग पैसा लिएर चुनाव जित्ने अनि बिभिन्न बाहानामा उनैलाई पोस्न भ्रष्टाचार गर्ने प्रवृत्तिले नै त हो मुलुक नबनेको हो । जति भोट आउला म खर्च गर्ने पक्षमा छैन । मेरो खर्च भने माइकिङ र पर्चा पम्प्लेट हो । बढीमा ३० हजारमा यो सबै काम सकिन्छ । मैले हुल हुज्जत जम्मा गर्ने, र्याली निकाल्ने इत्यादि गर्दिनँ । समस्यामा परेँ भने मतदातासंगै २० । ५० माग्छु कुनै ब्यापारी, पुलिस, ठेक्कावालासंगबाट पैसा उठाएर खर्च गर्दिनँ । साइकल, मोटरसाइकलबाट सबै मतदाताको घरदैलोमा पुग्न प्रयास गर्नेछु ।

ट: अन्तिममा, त्यसो भए तपाईले चुनाव जित्नुहुन्छ?
यसमा शंका छैन । धाँधली भएन र रातारात मत बेचिएन भने मैले चुनाव जित्छु । अहिले त्यो खालको जनचाहना छ । मतदाताले योग्य मानिस खोजिरहेका छन् । विश्वभरको माहौल यस्तै छ । मेरो इमान्दारिता र पत्रकारिताबाट बनाएको ब्यक्तित्वकै कारण चुनाव जित्छु ।
ञः हवस्त, धन्यबाद, विस यु अल दि वेष्ट ।
यहाँलाई पनि धनयबाद । मेरो उम्मेदवारी सम्पूर्ण सक्षम युवा र पत्रकारहरुको प्रतिनिधित्वको पनि हो । चुनाव अवधिभर यहाँले मलाई साथ दिनुहोला । यहाँलाई पनि धेरैधेरै धन्यबाद ।

 

 


प्रतिक्रिया दिनुहोस्