काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदुत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूतको रुपमा नियुक्त हुनुभएकोमा राजदूत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिनुभएको थियो । गृहमन्त्री थापाले उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
गृहमन्त्री थापाले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गर्नुभयो । थापाले आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनमा समेत ती क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताउनुभयो । इतिहासदेखि नै नेपालले बेलायतले गर्दै आएको सहयोगका लागि आफूहरु कृतज्ञ रहेको बताउनुभयो ।
त्यस अवसरमा राजदूत निकोला पोल्लिटले बेलायतमा बस्ने नेपाली र ब्रिटिश गोरखाका समस्याका विषयमा आफूहरु गम्भीर रहेको बताउँदै अहिले धेरै समस्याहरु समाधान भइसकेको जानकारी दिनुभयो । भेटवार्तामा राजदूत निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गरिने आश्वासन दिनुभयो ।