चिठ्ठा पर्‍यो भन्दै १५ करोड ठगी, ३ जना पक्राउ

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ०२


काठमाडौं । भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगि गर्ने गिरोहलाई महानगरिय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेका छन् ।

पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ ।

अनलाइन ठगिमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जाल मार्फत ठगिधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको महानगरिय अपराध महाशाखा एसएसपी सहकुल थापाले बताउनुभयो । 

पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको उहाँले बताउनुभयो ।

नेपालमा ४० भन्दा बढी एजेण्टहरु रहेको र उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेका थिए ।

उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको एसएसपी थापाले बताउनुभयो ।

थापाले अहिलेसम्म ३४ जना नेपालीहरु अनलाइन ठगिमा संलग्न रहेको र १५ जना अनलाईनबाट ठगि पीडितहरु प्रहरीको संम्पर्कमा आएको बताउनुभयो ।

एजेण्टहरुले ठगि गरेर कारोबार गरेका बैंकहरुमा ह्याक हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्