दिक्तेलमा शिल्पी थिएटरको ‘अलिकति उज्यालो’

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १० : २२


खोटाङ । शिल्पी थिएटरले खोटाङको दिक्तेल बजारमा मुक्त रंगमञ्च ‘अलिकति उज्यालो’ प्रदर्शन गरेको छ। खोटाङ रंगमञ्चको संयोजनमा शिल्पी थिएटरले आइतबार साँझ दिक्तेलको पुरानो बेसक्याम्पस्थित हेलीप्याडमा सडक नाटक ‘अलिकति उज्यालो’ प्रदर्शन गरेको हो।

शिल्पी थिएटरले विभिन्न जिल्लाका गाउँ तथा नगरमा पुग्नेगरी घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटक प्रदर्शन सुरु गरेको हो। ३ वैशाखदेखि मन्थलीबाट सुरु गरिएको नाट्य यात्रा ११ बैसाखसम्म सञ्चालन हुने शिल्पी थिएटरले जनाएको छ। ‘अलिकति उज्यालो’मा देशको राजनीतिक बेथिति, चुनौती र दुःखका बीचमा नागरिकबीच बाँकी रहेका आशालाई झल्काइएको छ।

मुक्त रंगमञ्चमा स्थानीय सरकारले जनचाहना बिपरित भ्यू–टावर, पार्क जस्ता कंक्रिटका संरचना निर्माणमा जोड दिएको तर किसानलाई मल, बीउ र सिँचाई, नागरिकलाई स्तरीय स्वास्थ्य सेवा र शिक्षाको प्रवन्ध गर्नमा ध्यान नदिएको भन्दै व्यंग्या गरिएको छ । राजनीतिक, सामाजिक र साँस्कृतिक बेथिति विरुद्ध अभियानको आवश्यकतालाई मध्यनजर गर्दै थिएटरले खुल्ला ठाउँमा सिर्जनात्मक र स्वतन्त्र रंगकर्म अभियान चलाएको जनाएको छ।

‘अलिकति उज्यालो’ क्रमशः भोजपुर, धनकुटा, बसन्तपुर, च्याङथापु, इलाम, बिर्तामोड र मोरङमा प्रदर्शन गरिने छ। मुक्त रंगमञ्चमा पवित्रा खड्का, संगीता उराँव, मानहाङ लावती, ज्योती पोख्रेल, रविन परियार, गोबिन्द ओली, ज्याक बराल, हिमाल भुजेल, संजिव थुलुङ राई, सुशीला लुहार, अजय लामा, संजय शाहीको अभिनय देख्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्