कपिलवस्तु । शिवराज नगरपालिका– ८ स्थित एक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शौचालय प्रयोग गर्दैनन् । विगत ६ महिनादेखि शौचलय सरसफाई नहुँदा शौचालयमा विद्यार्थीहरु दिसापिसाव गर्नबाट बच्चित छन् । अहिले विद्यार्थीहरुले शौचालयको रुपमा खुल्ला आकाशमुनि जथाभावीरुपमा दिसापिसाव गर्ने गरेका छन् ।
बिसनपुरमा रहेको वालज्योति माध्यमिक विद्यालयमा रहेका २ वटा शौचालयभित्र त के परिसरमै जानसक्ने अवस्था छैन । शौचालयको भित्र र बाहिर दिसापिसाव भएका कारण विद्यार्थीहरु शौचालयमा नभई दिसापिसाव गर्न बाहिर जाने गरेका छन् ।
माध्यमिक तहसम्म अध्यापन हुने उक्त विद्यालयमा भएको लापरवाहीले विद्यार्थीहरु प्रत्यक्षरुपमा मर्कामा परेका छन् । उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीले शौचालय प्रयोग नगरिएको बताए । ‘शौचालय जान सक्ने अवस्था छैन, त्यसैले हामी बाहिरनै जान्छौं’ उनले भने । उक्त विद्यालयका शिक्षक शिक्षिकाको लागि भने छुट्टै शौचालयको व्यवस्था छ । त्यो शौचालय शिक्षकशिक्षिका वाहेक अन्यले देख्न पाउँदैनन् । माध्यमिक तहसम्म पढाई हुने उक्त विद्यालय व्यवस्थापनको चरम लापरवाहीले विद्यालयको अवस्था अस्तव्यस्त रहेको पाइएको छ ।
केही समयअघि विद्यालयका प्रधानाध्यापक घुससहित रंगेहात पक्राउ परेका कारण विद्यालय अहिले प्रधानाध्यापकविहीन छ । विद्यालयमा प्रधानाध्यापक नभएपछि शिक्षकशिक्षिकालाई विद्यालयको प्रशासन सञ्चालन गर्न कठिनाई भएको पाइएको छ । सामान्य खर्चमा शौचालयको सफाई गर्न सकिने भएपनि नगरपालिकाको अनुगमन कमजोर र विद्यालय प्रशासनको लापरवाहीको कारण विद्यालय परिसर नै दुर्गन्धित छ । विद्यालय वरपर प्लाष्टिकका कागज, कापीका पाना, सुर्तिका कागजहरु यत्रतत्र छरिएर रहेका छन् । विद्यालयमा प्रधानाध्यापक नहुँदा विद्यालय सञ्चालनमा कठिनाई भएको वडाध्यक्ष शंकर अहिरले बताए । ‘विद्यालय सञ्चालनको लागि २ महिनादेखि प्रधानाध्यापक छैनन् । शिक्षकले गर्ने अधिकारका कुराहरु पनि हुने भएकोले गाह्रो भएको छ’, उनले भने ।
शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले व्यवस्थापन समिति र शिक्षकको लापरवाहीले विद्यालय दुर्गन्धित भएको स्वीकार गरे । नगरको दक्षिणी भेगमा रहेका केही विद्यालयको अवस्था जटिल रहेकोले यसको लागि नगरपालिकाले अनुगमन गरी कडाईका साथ लाग्ने उनले जनाए । ‘चुनावी आचारसंहिताका कारण प्रधानाध्यापकको विषयमा समस्या भएको हो । अव केही दिनमै विद्यालय सुधारको अवस्थामा देख्नुहुन्छ’, उनले भने । यता विद्यालय व्यवस्थापन समितिको पनि मिति सकिएकोले समिति अहिले निस्क्रिय भएको पाइएको छ । विद्यालय र स्थानीय सरकारले लापरवाही, विद्यार्थीहरु अनुशासनहीन हुँदा विद्यालयको अवस्थामाथि प्रश्न उठेको छ ।