गाउँपालिकाले गरेको लोभलाग्दो काम: आफैले बाख्रापालन गरेर आफैले बेच्छ

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : ४६


सुर्खेत । दैलेखको भगवतीमाइ गाउँपालिकाले व्यावसायिक कृषि, पशुपालन र पूर्धारलाई विशेष आधार बनाएर विकासको गतिमा लम्किँदै गएको छ।

गाउँपालिकाको सातवटै वडामा शिक्षा, स्वास्थ्य, सडक विकासमा तीव्रता दिँदै अगाडी बढेको गाउँपालिका अध्यक्ष दान बहादुर थापा बताउँछन्।

व्यावसायिक कृषि पशुपालनमा जोड दिएर गाउँपालिकाको आर्थिक स्तर उकास्नलाई पालिकाले आफ्नै लगानीमा बाख्रा फर्म सञ्चालन गरेको छ।

पशुपालनका लागि उपयुक्त रहेको भगवतीमाइ गाउँपालिका –१ पगनाथमा सञ्चालन गरेको वडा अध्यक्ष मान बहादुर बुढाले बताए। गाउँपालिकाको आर्थिक उन्नतिको लागि गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिँदै आएको छ,’उनले भने, ‘कृषि पशुपालनको प्रचुर सम्भावना रहेको भगवतीमाइ १ मा बाख्रा फर्म सञ्चालन गरिएको हो।’

भगवतीमाइ गाउँपालिका १ को पगनाथमा एक करोडको लागतमा सञ्चालन गरिएको छ। वडा अध्यक्ष मान बहादुर बुढाका अनुसार कृषि पशुपालनलाई मुख्य प्राथमिकतामा राख्दै पालिकाको आर्थिक स्थिति उकास्न २०७७ देखि बाख्रा फर्म सञ्चालन गरिएको थियो। गाउँपालिकाले बाख्रा फर्म सञ्चालन गर्दा सुरुमा खरिजातको ५० वटा माउ बाख्रा चारवटा ठूलो बोका गाउँपालिकाले खरिद गरेको थियो। खोरमा अहिले एकसय १५ वटा बाख्रा रहेका छन्।

तीनजनालाई रोजगारी

पालिकाले सञ्चालन गरेको बाख्रा फर्म रेखदेख गर्नको लागि पालिकाले तीन जनालाई रोजगारी समेत दिएको छ । बाख्राको रेखदेख गर्नको लागि दुई जना बाख्रा हेरालु, र एक जना पशु प्राविधिक राखेको छ।

कृषि पशुपालनमा विशेष जोड दिँदै गाउँमै तीन जनालाई रोजगारी पाउँदा आफूहरू खुसी भएको प्राविधिक विमल थापा बताउँछन्। पालिकाले आफै बाख्रा फर्म सञ्चालन गरेर एक उदाहरण पेस गरेको छ,’उनले भने, ‘बाख्राबाट राम्रै नाफा भइरहेको छ । बाख्रालाई दानापानी र औषधी दिएको महिनामा २० हजार भए पुग्छ।’

दुई वटा खोरहरू बनाएर ५०/५० बाख्रा खरिद गरेर २०७७ मा खोरमा हालिएको थियो । तिनै एक सय वटा बाख्राबाट उत्पादन भएका बाख्रा समूहबाट बिक्री वितरण गरेर गाउँपालिका नाफामा रहेको वडा अध्यक्ष बुढाले बताए।


प्रतिक्रिया दिनुहोस्