काठमाडौँ । नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ। पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नुहुनेछ।
संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्। उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ। यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ।
सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ। उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन्। त्यही कारण तुम्बाहाम्फेको पद गुम्न लागेको हो। सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ।
‘जेष्ठ सदस्यले अध्यक्षता गर्ने गरी उपसभामुखले राजीनामा दिनुहुनेछ,’ नेकपा संसदीय दल स्रोतले भन्यो, ‘उहाँले राजीनामा दिनैपर्ने अवस्था छ। बैठक बस्नुअघि राजीनामा आउँछ।’
उपसभामुखले सभामुखलाई सम्बोधन गरी राजीनामा दिनुपर्ने संसद् नियमावलीमा व्यवस्था छ।
नयाँ सभामुख को ?
संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे सत्तासीन नेकपामा छलफल प्रारम्भ भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेको स्रोतले बतायो। स्रोतका अनुसार ओलीको रोजाइमा पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ हुनुहुन्छ।
नेम्वाङले आफू सभामुखको दौडमा नरहेको अभिव्यक्ति दिएपछि दुबै अध्यक्षले आफूहरुले निर्णय गर्ने र त्यसबारे केही पनि नबोल्न नेम्वाङलाई भनिसकेको स्रोतले जनायो। पूर्वमाओवादीका नेताहरू पनि सभामुखको दौडमा छन्। अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले पनि सभामुखमा रुचि राखेको नेकपा स्रोतले बतायो। उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दाबी छाड्नुभएको छैन्।आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।