डोल्पावासीका दुःख: जहाज र स्थलमार्गको खर्च बराबर

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ५ : ५९


सुर्खेत । कर्णाली प्रदेशको राजधानीबाट डोल्पा जान, आउनका लागि स्थल मार्ग र हवाई मार्गबाट खर्च बराबर लागेपछि यात्रु मर्कामा परेका छन्।

लुम्बिनी प्रदेशको नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थल जानका लागि ९ हजार लाग्ने गर्दछ। फर्कंदा ५ हजार भाडा कायम गरिएको छ।

जान र आउन मात्र हवाई मार्गबाट १४ हजार खर्च हुने गरेको यात्रुहरू बताउँछन्। त्यही पनि भनेको समयमा टिकट नपाउने समस्या रहेको छ। करिब १७ मिनेटको उडान रहने गर्छ।

स्थलमार्गबाट डोल्पा जानका लागि पनि योभन्दा बढी खर्च गनुपर्ने बाध्यता रहेको सर्वसाधारणहरू बताउँछन्।

सुर्खेतबाट जाजरकोट ८ सय, जाजरकोटबाट तल्लु सम्मा ७ सय, अनाहबाट खदाङ १ हजार, खदाङबाट त्रिपुरोकाट ५०० र सुपानीबाट दुनै ४ सय भाडा तिनुपर्ने बाध्यता रहेको छ।

खाना खर्च, बाटोमा सामग्री नदी पार गराउँदा छुट्टै शुल्क लाग्ने भएपछि जहाजमा उडार गरेझैँ खर्च लाग्ने डोल्पा त्रिपुरासुन्दरी–३ का रामबहादुर धरालाले बताए। तोकिएको समयमा भेरी करिडोर भित्र पुल निर्माण नहुँदा सधैँ सर्वसाधारणले सास्ती भोग्नु परेको उनले बताए।

भेरी करिडोर भित्र १३ वटा पुल निर्माण कार्य जारी रहे पनि असार मसान्त भित्र निर्माण कार्य सम्पन्न हुने कुरामा शंका रहेको यात्रु बताउँछन्। निजी प्रदायक कम्पनीका जहाजले मात्र डोल्पामा उडान भर्दा हवाई भाडासमेत चर्को रहेको छ। उसो त कर्णालीको हुम्ला र मुगुमा समेत चर्को भाडा रहेको छ।

यी हिमाली जिल्लामा जहाजको यात्रा गर्न लाग्ने बजेटले विदेशमा घुमेर आउन सकिने पत्रकार प्रभात चलाउने बत्ताउँछन्। हुम्लामा जहाज उडानका लागि मन्त्रीदेखि सांसदसम्मले भनसुन गर्नुपर्ने देखि केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण पत्र पठाउनेसम्माका काम गर्नुपरेको छ।

चार दिनअघि मात्र हुम्लामा जहान नियमित बनाउन माग गर्दै कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)ले ध्यानाकर्षण पत्र पठाएका थिए।

डोल्पाका सांसद वीरबहादुर शाहीले ६ महिना अघि मात्र नेपाल बायु सेवा निगमको जहाजद्वारा डोल्पामा उद्धार भर्नुपर्ने भन्दै ज्ञापनपत्र नै बुझाएका थिए।

जहाजका लागि ज्ञापनपत्र सम्मा बुझाउने नेता तथा सांसदले सडक सञ्जाललाई व्यवस्थित बनाइ सबैको पहुँचमा सडक बनाएको भए भारी खर्च गरेर यात्रा गर्नुपर्ने बाध्यता कसैलाई नहुने सर्वसाधारणहरू बताउँछन्। हिमाली जिल्लामा टिकटका लागि सधैँ दसैँ र तिहारका जस्तै दबाब र पालो कुर्नुपर्ने बाध्यता रहेको छ।


प्रतिक्रिया दिनुहोस्