जलियानवाला बाग नरसंहारः ब्रिटिश सेनाले ४०० निहत्था भारतीयको हत्या गरेको त्यो दिन…

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ११ : ४९


नयाँ दिल्लीl आजकै दिन अर्थात सन् १९१९ को १३ अप्रिलमा ब्रिटिश सेनाले भारतमा झन्डै ४०० निहत्था नागरिकको हत्या गरेको थियो । ब्रिगेडियर–जनरल रेजिनाल्ड डायरको ठाडो आदेशमा अमृतसरको जलियानवाला बागमा निहत्था मानिसको हत्या भएको थियो ।

जलियानवाला बागमा जम्मा भएका निहत्था भारतीयमाथि सेनाले अन्धाधुन्ध गोली हानेको थियो । आक्रमणमा सयौँ जना घाइते भएका थिए । प्रथम विश्व युद्ध (सन् १९१४ देखि सन् १९१८) को अवधिमा भारतको ब्रिटिश सरकारले विध्वंसात्मक गतिविधिविरुद्ध लड्न दमनकारी आपतकालीन शक्तिहरू लागू गरेको थियो ।

युद्धको अन्त्यमा ती कदम सहज हुने र राजनीतिक स्वायत्तता प्राप्त हुने आमभारतीयले अनुमान गरेका थिए । तर, सरकारले सन् १९१९ को सुरुमा ‘रोलट एक्ट’ भनेर चिनिने एउटा ऐन ल्याएको थियो, जसले दमनकारी युद्धकालीन कदमलाई प्रश्रय दिएको थियो ।

ब्रिटिश सरकारको सो कदमपछि विशेषगरी पन्जाबका भारतीयबीच व्यापक क्रोध र असन्तुष्टि बढेको थियो । ऐनले संदिग्धहरूलाई अदालतमा सुनुवाईबिना नै नजरबन्दमा राख्न अनुमति दिएको थियो ।

त्यसको विरोधमा महात्म गान्धीले एक दिने देशव्यापी आम हड्ताल आह्वान गरेका थिए । अमृतसरमा प्रमुख भारतीय नेताहरूलाई गिरफ्तार गरी सो सहरबाट निष्कासन गरिएको समाचारले १० अप्रिलमा हिंसात्मक प्रदर्शनहरू भएका थिए । अमृतसारमा चर्चित नेताहरु पक्राउ परेका थिए ।

ब्रिगेडियर जनरल रेजिनाल्ड एडवर्ड ह्यारी डायरलाई शान्ति सुव्यवस्था कामय गर्ने जिम्मा दिइएको थियो । उनको निर्देशनमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइयो ।
१३ अप्रिलको दिउँसो करिब १० हजार पुरुष, महिला र केटाकेटीहरूको ठूलो भिड पर्खालले घेरिएको जलियावाला बागमा जम्मा भएको थियो । बैसाखी पर्व मनाउन वरपरका क्षेत्रबाट सो स्थानमा मानिसहरू भेला भएका थिए ।

डायरको आदेशमा त्यहाँ पुगेका सिपाहीले पर्खालले घेरिएको स्थानको बाहिर निस्कने बाटो बन्द गरे । बिनाचेतावनी डायरको आदेशमा सेनाहरूले भीडमा अन्धाधुन्ध सयौं राउन्ड गोली हानेको थियो । बारुद समाप्त नहुन्जेल सेनाले गोली हानेका थिए ।

रक्तपातमा कतिको मृत्यु भयो भन्ने यकिन छैन । तर, एक आधिकारिक रिपोर्टअनुसार अनुमानित ३७९ जना मारिनुका साथै १२ सय जना घाइते भएका थिए ।
सो हमलाले भारत–ब्रिटिश सम्बन्धमा स्थायी दाग लगाउनुका साथै भारतका राष्ट्रपिता महात्मा गान्धीले भारतलाई बेलायतबाट स्वतन्त्र गर्न पूर्णप्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्