न्यूजील्यान्डको ह्वाईट आईल्यान्डमा ज्वालामुखी विस्फोटमा परेर पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने आठ जना अझै हराइरहेको प्रहरीले जनाएको छ। पर्यटकहरू घुमिरहेको बेला त्यहाँ ज्वालामुखी विस्फोट भएको थियो। तर ३४ जनालाई जीवितै उद्धार गरिएको थियो।
तीमध्ये ३१ जना घाइते भएका छन् रतिनको अस्पतालमा उपचार भइरहेको छ। उपचार भइरहेकामध्ये दुई ब्रिटिश महिला पनि भएको न्यूजील्यान्डस्थित यूकेकी राजदूतले बताएकी छन्। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मृत्यु हुने पाँचमध्ये तीन अस्ट्रेलियाली नागरिक भएको हुन सक्ने बताएका छन्।
उनले ज्वालामुखी विस्फोटनका बेला २४ अस्ट्रेलियालीहरू एउटा क्रूज पानीजहाजमार्फत् उक्त टापुमा घुमिरहेको बताए।सिड्नीमा पत्रकारहरूसँग कुराकानी गर्दै मोरिसनले "स्वच्छन्दता साथ रमाइरहेको बेला भएको भएको त्रासदीपूर्ण यो विस्फोटन निकै दु:खद घटना हो" भन्ने टिप्पणी गरे।
तीमध्ये १३ जना अस्पतालमा छन् भने ११ जनाबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन। ज्वालामुखी विस्फोट हुँदा उक्त टापुमा ४७ जना मानिसहरू रहेको प्रहरीको भनाइ छ। हराउने र घाइतेमध्ये अमेरिका, चीन, मलेशिया र न्यूजील्यान्डका नागरिकहरू पनि छन्।