पोखरा । गण्डकी प्रदेशको प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा भेट्रान्स फुटवल प्रतियोगिता गर्ने भएको छ।
२ वैशाखदेखि सर्वाधिक राशिको नाईन ए साईड राष्ट्रिय भेट्रान्स फुटवल आयोजना गर्न लागेको हो। प्रतियोगिताको सबै तयारी पूरा भैसकेको सरकारले जनाएको छ।
नयाँ पिँढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय गराइराख्न प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन्। प्रत्येक टिममा ५० वर्षमाथिका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ।
प्रतियोगितामा १९ टिमको सहभागिता हुने अनुमान छ। तिमध्ये पोखराबाट ६ र काठमाडौंबाट ८, वालिङ, हेटौंडा र सिमराबाट टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले बताए।
प्रतियोगितामा विजेता टोलीले नगद तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो पुरस्कार एक लाख ५० हजार र सेमिफाइनल पुग्ने टोलीले ३०र३० हजार नगद पाउने मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए। सर्वोकृष्ट खेलाडीले २० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले १५र१५ हजार पाउनेछन्।