संसदभित्रै यौन हिंसा, यस्तो छ कहानी

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  २ : ३१


काठमाडौँ । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्तः गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’

गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेस्र्याएका प्रश्न हुन् यी। उहाँले संसदभित्रै आफूहरूमाथि यौनहिंसा भएको बताउनुभयो। भन्नुभयो, ‘पुरुष सांसदबाट संसदभित्रै हामीमाथि यौनहिंसा भएको छ तर इज्जतको डरले सहन बाध्य छौं।’

पुरुष सांसदहरूले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँपिसएर ‘हग’ गर्ने गरेको उहाँले दाबी गर्नुभयो। ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’ उहाँले भन्नुभयो। पढेलेखेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद् भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेकोमा उहाँले उनासो गर्नुभयो। 

‘हामी महिला–पुरुष सबैसँग हात मिलाउँछौं,’ लैंगिकताको सवालमा संसदीय निगरानी विषयमा सोमबार आयोजित कार्यशालामा उहाँले भन्नुभयो, ‘हामी उनीहरूलाई सम्मान गर्छौं, सम्मानस्वरूप हात मिलाउने बानी छ। मैले मात्र होइन, सबै महिला साथीले पुरुषसँग हात मिलाउनुहुन्छ, तर उनीहरूले सम्मान र अभिवादनका लागि हात मिलाएका हुँदैनन्।’

उनले शिक्षित महिला पनि यौनहिंसाबाट पीडित बन्नुपरेको बताउनुभयो। ‘यो उमेरमा, यो अवस्थामा आउँदा पनि किन यस्तो ?,’ भावुक बन्दै उहाँले प्रश्न गर्नुभयो, ‘अनावश्यक मान्छे, बिनाकाम हामीलाई छुन आउँछन् । हामीलाई किन छुने भन्ने मेरो जिज्ञासा हो। हामीले राम्रोसँग हिंसा भएको अनुभव गरेका छौं तर भन्न भएन, भन्नैपरे पनि कोसँग कहाँ गएर भन्ने ? मौन बस्नुको अर्को कुनै विकल्प छैन।’ यौनहिंसा र महिला हिंसा गर्ने यस्ता पुरुष सांसदविरुद्ध महिला सांसदले एक भएर आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्