चुनाव नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले हलेसीमा चढाए चार लाख भेटी

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : २८


हलेसी। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई रु दुई लाख र हलेसी मारतिका गुम्बालाई रु दुई लाख भेटी पठाउनुएको छ ।

गत चैत १९ गते एमालेले दिक्तेलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष ओलीले हलेसी मन्दिर तथा गुम्बा अवलोकन गरेपश्चात् भेटीस्वरुप मन्दिर र गुम्बालाई रु दुई–दुई लाख दान गर्ने घोषणा गर्नुभएको थियो।

अध्यक्ष ओलीको घोषणा अनुसार रामनवमीको अवसर पारेर एमाले केन्द्रीय सदस्य एवम् खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले सो रकम हस्तान्तरण गर्नुभएको छ ।

एमालेले आइतबार मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यवस्थापन समितिका अध्यक्ष डोमा लामालाई अध्यक्ष ओलीले पठाउनुभएको रकम हस्तान्तरण गरेको हो ।

एमाले अध्यक्ष ओलीले पठाउनुभएको सहयोग रकम ग्रहण गर्दै गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लामाले ओलीको स्वास्थ्य दीर्घायुको कामना गर्नुभएको छ ।

भेटी हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला सचिव कुमार आचार्य, उपसचिव दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई, हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो ।

पत्नी राधिका शाक्यसँगै हलेसी मन्दिर दर्शन तथा मारतिका गुम्बा अवलोकन गर्नुभएका अध्यक्ष ओलीले हलेसीको धार्मिक, ऐतिहासिक र पौराणिक महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रेस चौतारी नेपालले हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरेको सङ्क्षिप्त पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकासका लागि आफ्नो नेतृत्वको सरकारले आवश्यक बजेट उपलब्ध गराएको समेत स्मरण गराउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्