प्रदेश सरकारका यी मन्त्री जसले पद गएको दुई दिनपछि थाहा पाए

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : ३७


नेकपा एकीकृत समाजवादी नेपालका तारालामा तामाङ गत १ असोजमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भए । मन्त्री बनेको सात महिनामै उनको पद खुस्कियो । मन्त्रिबाट हटाइएको दुई दिनपछि मात्रै उनले जानकारी पाए।

कञ्चनपुरबाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका लामाले मन्त्रीबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाएका हुन्। मुख्यमन्त्री त्रिलोचन भट्टले २५ चैतमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । जसमा लामाको ठाउँमा समाजवादीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई मन्त्री बनाएका थिए।

उनले सामाजिक सञ्जालमा मन्त्रिबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाएको जनाएका छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले उनलाई फिर्ता बोलाएको थियो। शुक्रबार मन्त्रिपरिषद् हेरफेर गरिएको थियो। तर, उनले त्यो जानकारी आइतबार मात्रै पाएका हुन्। उनको ठाउँमा प्रकाश रावललाई पठाएको थियो।

उनले फेसबुकमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त।’

एकीकृत समाजवादीले गत शुक्रबार आफ्नो पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको थियो। एकीकृत समाजवादीबाट मन्त्री बनेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाइएको थियो।

उनले मन्त्रीबाट फिर्ता बोलाउँदा पार्टीमा कुनै छलफल नगरेको बताए । उनले फिर्ता हुने जानकारी नदिइएको प्रति असन्तुष्टि व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्