चितवन । बोक्साको आरोपमा जनप्रतिनिधिमाथि दुव्र्यवहार भएको छ। इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि बोक्साको आरोपमा कालोमोसो मोसो दलेर मानव मलमुत्र खुवाउने प्रयास भएको हो।
वडाध्यक्ष प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै जुत्ताको माला लगाएर मलमुत्र खुवाउने प्रयास गरेका थिए।
कसरी भयो घटना ?
जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए। तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद हुँदा एक समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन्।
उनीहरुले वडाअध्यक्ष बोक्सा भएको आरोप लगाउँदै मलमुत्र पनि खुवाउन समेत खोजेको पीडित प्रजाले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, ‘उनीहरुले दिसापिसाब पनि खुवाउँछौँ भनेका थिए, मैले प्रतिकार गरेँ, घटना भएको बेला मसँग भएका २/३ जना दाजुभाइ माथि पनि कुटपिट भएको छ।’
घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ।