रुसविरुद्ध लड्न आयरल्यान्डबाट युक्रेन पुगेका आलेकसान्डर रुसी सेनाबाट मारिए

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : ४८


काठमाडौं। रुसविरुद्ध लड्न आयरल्यान्डबाट युक्रेन पुगेका अल्दी कम्पनीका म्यानेजर रुसी सेनाको आक्रमणमा मारिएका छन्।

युक्रेनका आलेकसान्डर जाभहोरोडिनी २० वर्षयता आयरल्यान्डमा बस्दै आएका थिए। डब्लिनमा रहेको आल्दी सुपरमार्केटका उनी म्यानेजर पदमा थिए।

लामो समय आयरल्यान्ड बसेपछि उनले त्यहाँ कै नागरिकता पनि पाएका थिए। ४५ वर्षका उनले रुसले युक्रेनमा आक्रमण गरेको थाहा पाएपछि अन्ततः गत मार्चमा रुसविरुद्ध लड्ने निधो गरेका थिए।

मार्च पहिलो हप्ता नै उनी युक्रेन पुगिसकेका थिए।

खबरअनुसार दुई सन्तानका पिता उनी गत मार्च ३० मा डोनबासमा मारिएका हुन्।

रुसी सेनाले हवाई कारवाही गर्दा सोही बमबारीमा परेर उनको मृत्यु भएको आइरिस टाइम्सले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्