काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले बाँकेको कोहलपुर घटनाका दोषीमाथि कारवाही गर्न माग गरेको छ ।
अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङले विज्ञप्ति जारी गर्दै कलिला बालबालिकामाथि प्रहरीबाट निर्मम र अमानवीय कार्य भएको भन्दै घटनामा संलग्न दोषीलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।
त्रिभुवन माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय हातामा प्रवेश गर्नै लाग्दा ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थी आक्रोशित भएर विरोधमा उत्रनु स्वाभाविक भएको उहाँले उल्लेख गर्नु भएको छ ।
घटनालाई संयमीत बनाउनतिर लाग्नुभन्दा आगोमा घीउ थप्ने काम सुरक्षाकर्मीबाट भएको भन्दै सो सङ्गठनले दोषीलाई कारवाही र घाइतेको स्वास्थ्योपचारको माग पनि गरेको छ ।