अविश्वासको प्रस्तावपछि ढल्यो इमरान खानको सरकार, को बन्ला नयाँ प्रधानमन्त्री?

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १० : ५५


इस्लामावाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ।

शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन्। इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्री बनेका छन्।

मतदानमा ‘अन्तिम बल सम्म’ संघर्षरत खानको विपक्षमा १७४ मत परेको थियो र प्रस्ताव बहुमतले पारित भएको थियो। नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्नेछ।

यसअघि ६९ वर्षीय खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए।

आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

सर्वोच्च अदालतले बिहीबार एक फैसलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको ठहर गरेको थियो।

को बन्ला नयाँ प्रधानमन्त्री?

विपक्षी दलका नेता शहबाज शरीफलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ। उनलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन्। तर, प्रभावकारी प्रशासकको रूपमा देभभित्र उनको उच्च प्रतिष्ठा छ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफका कान्छा भाई शहबाज इमरान खान नेतृत्वको सरकार ढाल्न विपक्षीहरूले गरेको प्रयत्नको नेतृत्व गरेका थिए। शनिबार राति संसदमा खानबिरुद्ध अविश्वसको प्रस्ताव पारित भएको थियो।

शेहबाजको पाकिस्तानको सेनासँग राम्रो सम्बन्ध रहेको बताइन्छ। २२ करोड जनसंख्या भएको पाकिस्तानमा सेनाले विदेश र रक्षा नीतिमा हस्तक्षेप गर्ने बताइन्छ।

पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा शेहबाजले कुशल ढंगले आफ्नो भूमिका निभाएका थिए। चीनले सहयोग गरेका परियोजना सम्पन्न गर्न उनी बेइजिङसँग निकट भएर कार्य गरेका थिए।

गत साता एक अन्तवार्तामा उनले अमेरिकासँगको राम्रो सम्बन्धमा जोड दिएका थिए। इमरान खानले भने अमेरिकाको विरोध गर्दै आएका थिए। आफ्नो सत्ता ढाल्न विदेशी चलखेल भएको उनले दाबी गर्र्दै आएका छन्।

सन् १९९९ मा पाकिस्तानमा भएको सैनिक विद्रोहपछि शहबाजलाई जेलमा राखेर साउदी अरब निर्वासन गरिएको थियो। उनी सन् २००७ मा स्वदेश फर्किएका थिए।

आर्थिक हिनामिनाको अभियोगमा नवाज शरीफ सन् २०१७ मा दोषी ठहर भएपछि शहबाज पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीको प्रमुख बनेका थिए।


प्रतिक्रिया दिनुहोस्