ऐसेलुखर्कका अध्यक्ष र उपाध्यक्षले फिर्ता गरे गाडी

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ९ : ३१


खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरेका छन्।

गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसरमा शुक्रबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले आफूले प्रयोग गर्दैआएको गाडी फिर्ता गरेका हुन्।

गाउँपालिका अध्यक्ष निरौलाले आफूले चढ्दैआएको बा २ झ ३४९६ नम्बरको स्कार्पियो गाडी र उपाध्यक्ष भुजेलले आफूले प्रयोग गर्दैआएको बा २ झ ४३९४ नम्बरको गाडीको चाबी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गरेका छन्। गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले निर्वाचन आचार संहिता लागू हुन लाग्दा गाडी फिर्ता गरेका हुन्।

ऐसेलुखर्क गाउँपालिकामा अध्यक्षको प्रयोजनका लागि २०७४ सालमा र उपाध्यक्षको प्रयोजनका लागि २०७५ सालमा गाडी खरिद गरिएको थियो । जनताको नासोको रूपमा प्रयोग गर्दैआएको गाडी फिर्ता गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए।

डेढ सय क्षमताको सभाहल उद्घाटन

ऐसेलुखर्क गाउँपालिकाले डेढ सय जना क्षमताको सभाहल निर्माण गरेको छ। ४७ लाख ७६ हजार ८०८ रुपैयाँमा समीक्षा निर्माण सेवा, सुनसरीले निर्माण गरेको सभाहल शुक्रबार उद्घाटन गरिएको हो।

सभाहलमा ५० जना अट्ने स्टेज, करिब सय जना अट्ने ८ स्टेपको प्याराफिट, दुई वटा स्टोर रुम, तीन वटा धारा लगायतका संरचना बनाइएको छ। सभाहल उद्घाटन लगत्तै विशेषसभा सञ्चालन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्