खाली खुट्टा मेचीदेखि महाकालीसम्मको पैदल यात्रामा निस्किए राउत

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : ५२


खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका खगेन्द्र राउत खाली खुट्टामा मेची–महाकाली पैदलयात्रा निस्किएका छन्। विश्व शान्तिको कामना गर्दै ४४ वर्षीय राउत २३ फागुनदेखि खाली खुट्टामा मेची महाकाली यात्रामा निस्किएका हुन्।

लामो जटा पालेर गेरु वस्त्र पहिरिएका राउत नेपालको झण्डा हातमा बोकेर खाली खुट्टा यात्रामा निस्किएका हुन्। शुक्रबारसम्ममा खाली खुट्टा २२ जिल्लाको यात्रा पुरा भएको राउतले बताए।

सिद्धबाबाको रूपमा चिनिने राउत खोटाङबाट उदयपुर, सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, मकवानपुर, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके हुँदै बर्दिया पुगेका छन्।

सात वर्षदेखि अन्न नखाएका राउत जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको सावाखोला किनारमा रहेको तीर्थस्थल भानुमतीमा ६ मंसिरदेखि ११ दिने ध्यानमा बसेका थिए।

त्यसअघि उनी पाथीभरामा ४ दिन, हलेसीमा ३ दिन ३ रात र बराहपोखरीमा १८ घण्टा ध्यानमा बसेका थिए।


प्रतिक्रिया दिनुहोस्