चौतारा दारेगौंडामा बन्यो ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ३ : ३२


सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-६ स्थित दारेगौंडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमासहितको बुद्धपार्क बनेको छ।

पर्यटन प्रवर्द्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजनाअनुरुप नगरपालिकाको नगर गौरवको योजनाअनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क बनेको हो।

सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै आरामदायी यात्रासँग पुग्न सकिने उक्त बुद्धमूर्ति ६७ फिट अग्लो छ।

अरनिको राजमार्गको सुकुटे आउने पर्यटकलाई यहाँसम्म ल्याउने योजना रहेको नगरपालिका मेयर अमानसिंह तामाङले बताए। सो बुद्धपार्कबाट जुगल हिमाल, काभ्रेको प्रसिद्ध पलाञ्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट देख्न सकिन्छ।

समुद्र सतहबाट दुई हजार एक सय ५० मिटरको उचाइमा रहेका पर्यटकीय हिमाली गाउँ ओखरेनीमा रहेको चिया बगानसम्म पर्यटक लैजाने बुद्ध मूर्तिको प्रतिमाले महत्व राख्दछ। सदरमुकामबाट बुद्धपार्क सवारीको प्रयोगबाट पनि पुग्न सकिन्छ भने आधा घण्टा पैदलबाट पनि जान सकिन्छ।

बिहीबार सो निर्मित भ्यु टावरसहितको बुद्धपार्कको सभामुख अग्निप्रसाद सापकोटाले समुद्घाटन गरेका छन्।


प्रतिक्रिया दिनुहोस्