प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिन्छौँ: महेश बस्नेत

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  २ : १३


चितवन। नेकपा एमालेका नेता महेश बस्नेतले प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिने चेतावनी दिएका छन्।

बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता बस्नेतले गठबन्धनलाई धम्क्याउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजेको तर त्यो सजिलो नभएको बताए।

‘प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम यात्राको टिकट काटिदिने भन्ने छ’, उनले भने। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पिँध नभएको लोटा जस्तै भएको उनले टिप्पणी गरेका छन्।

छोरीलाई मेयर र बाबुलाई सांसद बनाएर नेपाली कांग्रेस नारायणी नदीमा क्रुजसिप चढ्न खोजेको भनि उनले व्यंग्य गरे। गठबन्धनलाई धम्काउन एमालेलाई प्रयोग गर्न सजिलो नभएको भन्दै उनले चुनावमा बाबु छोरी मिलेर आएपनि साइजमा राख्ने बताए।

एमालेलाई एक्लै हराउन सकिँदैन भन्ने भएपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी एक ठाउँमा आएको भन्दै उनले त्यहि डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको बताए। एमालेले एक्लै चुनावमा जाने बताएपनि स्थानीय तहको आवश्यकताका आधारमा अन्य दलसँग पनि तालमेल हुन सक्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस्