कोदो टिप्न बारीमा किसान

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : २१


काठमाडाैं । काभ्रेपलाञ्चाेक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–१ छोटेसाहनका किसान यतिबेला बारीमा लगाएको कोदो भित्र्याउने काममा व्यस्त छन् । मकैपछिको दोस्रो अन्नबालीका रुपमा खेती गर्दै आएका यहाँका किसान कोदोका बाला टिप्नका लागि गाउँले आपसमा मिलेर भित्र्याउने गर्छन् ।

    जिल्लाका विकट महाभारत र खानीखोला गाउँपालिकाका कृषकले विशेषगरी मकै र धानपछिको बाली कोदोको खेती गर्दै आएका छन् । त्यसरी लगाउँदै आएको बाली कोदो पाक्ने समय भएकाले त्यहाँका किसान यतिबेला कोदो टिप्न बारीमा व्यस्त बनेका हुन् । “कोदो धेरै लगाउने गरेका कारण हामी गाउँले आपसमा पालैपालो गरेर टिप्ने गर्छौं”, महाभारत–१ छोटेसाहनका किसान मन्दुमाया वाइवाले भन्नुभयो । 

    त्यसरी उत्पादन गरेको कोदो घरमा नै खानका लागि र अन्य कामका लागि प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । खाएर बढी भएको कोदो भने बेच्नका लागि उचित मूल्य नपाउने भएकाले खाजा लगायतका अरू कार्यमा प्रयोग गर्ने गरेको किसान बताउँछन् । पोषणका दृष्टिकोणले महत्वपूर्ण बालीका रुपमा मानिएको कोदो दुःख गरेर खेती गरे पनि त्यसको उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । 

    कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षणको कार्यक्रम अगाडि बढाएको भए पनि विकट डाँडापारिका किसानले लगाउँदै आएको कोदोको संरक्षण र प्रवद्र्धन गर्ने विषयमा भने कुनै ध्यान दिएको पाइएको छैन । जिल्लाको मण्डनदेउपुर, चाँैरीदेउराली र बेथानचोकमा रैथाने बाली संरक्षण र प्रवद्र्धनको कार्यक्रम शुरु गरे पनि महाभारत र खानीखोलामा भने सो कार्यक्रम नरहेको कृषि ज्ञानकेन्द्र काभ्रेपलाञ्चोकले जनाएको छ । 

    पहिला–पहिला बेच्नका लागि पनि बोकेर लग्नुपर्ने बाध्यता रहेकामा अब भने बल्ल सडक सुविधा पुगेर गाडी चल्न थालेकाले आम्दानीको स्रोत बन्ने आशामा रहेको किसान बताउँछन् । यहाँका बासिन्दा कोदोको पीठोबाट ढिँडो, रोटी, खोलेलगायतका परिकार बनाएर खाने गर्छन् । कोदो लगाउने क्षेत्रफलको यकिन तथ्याङ्क नभए पनि महाभारतका बनखु, गोलटार, सानोपोखरा, ठूलोपोखरा, देउराली, बुढाखानी, घर्तिछाप, गोकुले, कुपिन्टार र खानीखोलाका विभिन्न स्थानमा कोदो खेती गरिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्