काठमाडौं। भारतले सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनको बुचामा भएको भनिएको नरसंहारको निन्दा गर्दै यस विषयमा स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गरेको छ।
बुचामा ३ सयभन्दा बढी युक्रेनी सर्वसाधारणको निर्मम तवरबाट हत्या भएको त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
रुसी सेनाले विभत्स हत्या गरेको युक्रेनी आरोपबीच भारतले यो घटनामा रुसको निन्दा गरेको हो। यद्यपी रुसले हत्याको विषय गलत प्रचार भएको प्रतिक्रिया जनाएको छ।
सुरक्षा परिषदका लागि भारतका स्थायी प्रतिनिधि टिएस तिरुमूर्मिले भनेका छन्,‘हामी स्पष्ट रुपमा बुचा हत्याको निन्दा गर्दछौं। बुचाबारे प्रकाशित समाचारहरुले भारतलाई दुखित बनाएको छ। हामी स्वतन्त्र जाँचको पक्षमा छौं।’
रुसले युक्रेनमा आक्रमण गरेयता भारतको तर्फबाट यो नै पहिलो रुसविरुद्धको अभिव्यक्ति हो। बीबीसी