‘रुसले युद्ध अपराध गरिरहेछ’

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ५४


काठमाडौं। पछिल्लो समय रुसी र युक्रेनी अधिकारीबीचको शान्तिवार्तामा रुसले आक्रमण कम गर्ने वाचा गरेको थियो।

यतिबेला रुसी सेना राजधानी किभ लगायतका क्षेत्रबाट फिर्ता भइरहेका छन्। तर दुःखको कुरा सयौं निर्दोष सर्वसाधारणको शव भेटिन थालेको छ।

युक्रेनको बुचा सहरमा हालसम्म ४ सय भन्दा बढी सर्वसाधारणको शव भेटिएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।

अधिकाँश सर्वसाधारणको शव हात बाँधिएको र टाउकोमा गोली हानेको अवस्थामा भेटिएको छ। बुचाका स्थानीय प्रशासनका अनुसार हालसम्म ४१० जनाको शव भेटिएको छ।

रुसले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका थिए। बुचामा भएको हालको घटनालाई यतिबेला नरसंहारको संज्ञा दिइएको छ।

बुचा क्षेत्रमा विभत्स हत्याको घटनापछि सोमबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की त्यहाँ पुगेका थिए। उनले पीडितका परिवार भेटेका थिए।

सो अवलोकनपछि जेलेन्स्कीले रुसी सेनाले बुचा क्षेत्रमा ३ सयभन्दा बढी नागरिकलाई यातना दिएर हत्या गरेको विषयको पुष्टि गरेका छन्।

राजधानी किभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा सोमबार राति जेलेन्स्कीले रुसी सेनाहरूले ३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको बताए।

उनले हाल आफूहरूसँग बुचामा मात्रै ३०० भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको बताउँदै पुरै सहरमा अनुसन्धान गरिदाँ पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने पनि उल्लेख गरे।

उनले भनेका छन्,‘बुचासहित किभ नजिक रहेका अन्य स्थानहरूको भ्रमण पश्चात् हामीले रुसी सेनाले सहरहरू ध्वस्त पारेको, अपहरण गरेको, यातना दिएको अनि सर्वसाधारणहरूलाई मारेको प्रशस्त प्रमाण फेला पारेका छौं।’

यसअघि रुसी सेनाले युक्रेनका महिला बलात्कार गर्ने गरेको पनि खबर आएका थिए। युक्रेनमा रुसी सेनाले गरेको भनिएको अत्याचारका थप प्रमाणहरू फेला परिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले त्यसको निन्दा गरेका छन्।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माथि युद्ध अपराधबारे अनुसन्धान गरिनुपर्ने बताए। युद्ध अपराध भनेको त्यस्तो अपराध हो जब युद्धमा संलग्न नभएका मानिस मारिन्छन्, निर्दोषलाई यातना दिइन्छ। अस्पताल, विद्यालय तथा आवसीय भवनहरुमा आक्रमण गरिनु साथै युद्धका समयमा सम्पत्ति लुट्नु र यौन शोषण गर्नुपनि युद्ध अपराध हो।

यी उल्लेख भएका सबै कुराबाट युक्रेनी नागरिक प्रताडित छन्। रुसी सेना क्रुर बनिरहेको छ।

बीबीसीका अनुसार बुचास्थित एउटा घरको भुइँतल्लामा हात बाँधिएको अवस्थामा पाँच जना सर्वसाधारणको शव फेला परेको थियो।

तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ। रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्बीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ।

संयुक्त राष्ट्र सङ्घका लागि मस्कोका राजदूतले पनि बुचामा भएका घटनाहरूबारे पश्चिमा राष्ट्रहरूले झुट बोलेको बताएका छन्। उनले तथ्यपरक प्रमाणहरू आफ्नो देशले राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा प्रस्तुत गर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्