भान्सामा ग्यासभन्दा बिजुली सस्तो

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  २ : ०३


काठमाडौँ । ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रूपमा सस्तो पर्ने अनुसन्धानले देखाएको छ । 

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो । यसका अनुसन्धानकर्ता एवं केन्द्रका प्राडा जगन्नाथ श्रेष्ठले भन्नुभयो, “एलपी ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा समय र पैसा कम खर्च हुने देखियो । त्यसैले एलपी ग्यासको प्रयोग कम गर्दै लैजान सकिएमा मुलुकलाई आर्थिक रूपमा फाइदा हुनेछ ।”

केन्द्रले यही मङ्सिर ७ गते सो अनुसन्धान गर्दा नमुनाका रूपमा आधा केजी चामल लिएको थियो । त्यसमा आधा लिटर पानी प्रयोग गरिएको थियो । चामल र पानीको तौल २।७९ केजी भएको थियो । उहाँले विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्दा फलाम ९स्टिल०को भाडोमा मात्र पाक्न सक्ने भएकाले ग्यास र इन्डक्सन चुलोमा यो अनुसन्धान गर्दा एउटै प्रेसर कुकर प्रयोग गरिएको बताउनुभयो । कुकरले दुई सिट्टी दिँदा भात पाक्ने सिद्धान्तअनुरूप भात पकाइएको थियो ।

ऊर्जाविद् प्राडा श्रेष्ठले ग्यास चुलोमा भात पकाउँदा ११ मिनेट ११ सेकेन्ड र इन्डक्सनमा पकाउँदा सात मिनेट ४९ सेकेन्ड समय लागेको जानकारी दिनुभयो । “इन्डक्सनमा पकाउँदा झण्डै तीन मिनेट छिटो पाक्ने रहेछ” उहाँले भन्नुभयो ।

अनुसन्धानका क्रममा एक पटक भात पकाउँदा एलपी ग्यासको ऊर्जा २५ ग्राम खपत हुने र इन्डक्सनमा पकाउँदा शून्य दशमलव १४२ किलोवाट आवर खर्च हुने गरेको पत्ता लगाइएको थियो । ऊर्जा खपतका बारेमा थाहा पाउन विभिन्न उपकरणहरू प्रयोग गरिएको थियो । “ऊर्जा खपतबारे थाहा पाउनका लागि विश्वमा जुन उपकरण प्रयोग गरिन्छन्, हामीले पनि तिनै उपकरणहरू प्रयोग गरेका थियौँ”, उहाँले भन्नुभयो । आजको गोरखापत्र दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्