लैंगिक विभेद अन्त्य गर्न सरकार लागि परेको छः मन्त्री झाँक्री

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : २३


काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण जरुरी रहेको बताएकी छिन्।

समाजमा रहेको लैंगिङ विभेद हटाएर समृद्ध समाज निर्माणको लागि सरकारले काम गरिरहेको बताउँदै उनले सामाजिक रुपमा रहेको विभेद हटाउन आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको बताएकी हुन्।

सोमबार एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग ईस्क्यापद्वारा काठमाडौंमा आयोजित ई(कमर्स र डिजिटल मार्केटिङसम्बन्धी दुई दिने महिला उद्यमशीलता तालिमको उद्घाटन गर्दै मन्त्री झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण हुनुपर्ने बताइन्।

उनले भनिन्, ‘समाजमा रहेको लैंगिक विभेद त्यतिबेला अन्त्य हुन्छ, जतिबेला महिलाहरू आर्थिक र सामाजिक रूपमा सशक्तीकरण हुन्छन्। यसले महिलाहरूको आत्मनिर्णयको अधिकार समेत सुनिश्चित गर्छ।’

कोरोना महामारीका कारण सबैभन्दा मारमा महिलाहरू नै परेको बताउँदै उनले सरकारले तालिम उद्यमशीलता विकास र महिला सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै यस क्षेत्रमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिँदै मन्त्री झाँक्रीले इ-कमर्स र डिजिटल मार्केटिङ क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताइन्।

ईस्क्याप दक्षिण तथा दक्षिण एसिया उपप्रमुख रन्जन सुदेश रत्नले संसारमा महिला सशक्तीकरण अत्यन्त महत्त्वपूर्ण विषय रहेको बताए। उनले हरेक सफल पुरुषको पछि महिलाको भूमिका हुने भन्दै महिला समानताबाट मात्र विश्व विकासमा अघि बढ्न सकिनेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस्