काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत बक्सिङतर्फ नेपालका चार महिला र दुई पुरुष खेलाडी फाइनल प्रवेश गर्नुभएको छ।
सातदोबाटोमा शनिबार भएको महिलातर्फको ४८ किलो तौल समूहमा नेपालकी ललिता महर्जन, ५४ किलो तौल समूहमा मिनु गुरुङ, ६० किलो तौल समूहमा सङ्गीता सुनार र ६४ किलो तौल समूहमा पुनम रावल फाइनलमा प्रवेश गर्नुभएको छ। ललिताले श्रीलङ्काका नादिका पुष्प रनासिङ्घे अर्चचिघेलाई अङ्कका आधारमा हराउनुभएको हो।
यस्तै मिनुले बङ्गलादेशका ओनिता इस्लामलाई अङ्ककै आधारमा पराजित गर्नुभएको हो। सङ्गीताले पनि श्रीलङ्काकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अङ्ककै आधारमा हराउनुभएको हो भने पुनम बाई पाएर सोझै फाइनल पुग्नुभएको हो।
यस्तै पुरुष ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर बङ्गलादेशका मोहमद अलामिनलाई अङ्कका आधारमा हराउँदै फाइनल पुग्नुभएको छ । पुरुष ९१ किलो तौल समूहमा आशिष दुवाडी बाई पाएर सोझै फाइनल प्रवेश गर्नुभएको छ । आजै सम्पन्न खेलमा पुरन राई र सुशील थापामगरले कास्य पदक पक्का गर्नुभएको छ । पुरुष ४९ किलो तौल समूहमा थापामगर भारतका विनोद तनवरसँग अङ्कका आधारमा पराजित हुनुभयो ।
यस्तै ५६ किलो तौल समूहमा राई सेमिफाइनलमा बङ्गलादेशका मोहमद रोविन मियासँंग पराजित हुनुभयो ।