पपुवा न्यगिनीलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय शृंखलाको उपाधि

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ४ : ००


काठमाडौं । फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमात्र जोड्न सक्यो । यो सन्दीपको कप्तानीमा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।

पीएनजीका सेसे बाउले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जितसम्म डोहोर्‍याउन सकेनन्। बाउले ३८ बलमा एक चौका र ६ छक्कासहित ५९ रन बनाए। यसबाहेक पीएनजीको खातामा ओपनर चार्ल्स एमिनीले १५ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रले सर्वाधिक चार विकेट लिए। उनले चार ओभर बलिङ गर्दा मात्र १८ रन खर्चिए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो उत्कृष्ट बलिङ फिगर हो । यसअघि उनले चार विकेट लिँदा २१ रन खर्चिएका थिए।

यसबाहेक करण केसीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए। करणले तीन ओभरमा २७ रन खर्चिंदा सन्दीपले चार ओभरमा २५ रन दिए।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित पीएनजीविरुद्ध १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार गरेको थियो।

नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाएका थिए। उनले ३८ बलमा पाँच चौका प्रहार गरे।

नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो। यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो।

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट भएका थिए। यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुदाँ दिलिप नाथ र आरिफ शेख डकआउट भएका थिए।

यसबाहेक, आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडे।

पीएनजीका सेमो कामेआले तीन विकेट लिदाँ चाड सोपेर, काबुआ मोरेअ, रिले हाकुरेले समान एक विकेट हात पारे।

शृंखलामा नेपाल, पीएनजी र मलेसिया सहभागी थिए । टी(२० शृंखलाअघि नेपालले पिएनजीसँग दुई एकदिवसीय खेलको शृंखला खेलेको थियो। उक्त शृंखला पिएनजीले ‘क्लिन स्विप’ गरेको थियो।


प्रतिक्रिया दिनुहोस्