सागः भारोत्तोलनमा नेपाललाई दुई स्वर्णसहित १४ पदक

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ४ : ०४


काठमाडाैं । तेह्राैं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत यहाँ सञ्चालित भारोत्तोलनमा अहिलेसम्म नेपाल दुई स्वर्णसहित १४ पदक जित्न सफल भएको छ । पोखरा महानगरपालिका–१२ माटेपानीस्थित एसआर केसी बैंकेटमा आयोजित प्रतियोगिताको आज भएको खेलमा नेपाली खेलाडी महिला तथा पुरुषतर्फ दुई रजत र चार कास्य पदक जित्न सफल भएका हुन् ।

 पदक तालिकामा नेपाली महिला र पुरुष खेलाडीले समान स्वर्ण, समान रजत र समान कास्य जितेका छन् । बीस स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले अझै पुरुषतर्फ टु वेट क्याटागोरीमा अन्तिम दिन आइतबार खेल्दैछ ।

पोखरामा आज भएको प्रतियोगितामा नेपालका अस्मिता राई (८७ प्लस) र विशालसिंह विष्ट (९६ केजी) ले तौल समूहमा रजत पदक जितेका हुन् । पुरुष ९६ केजी तौल समूहमा बङ्गलादेशका  जाइरुल इस्लामले स्वर्ण जित्नुभयोे । उहाँले स्न्याचतर्फ १२० र क्लिन एण्ड जर्कमा १४२ गरी कूल २६२ भार उठाउँदै स्वर्ण पदक जित्नुभएको हो ।  

रजत दिलाउने नेपाली खेलाडी विष्टले स्न्याचमा १०७ र क्लिन एण्ड जर्कमा १४० गरी कूल २४७ भार बहन गर्नुभयो । उन्नाइसवर्षे विष्ट कञ्चनपुरका हुनुहुन्छ । चार वर्षदेखि भारोत्तोलन खेल्दै आएको बताउने उहाँले रजत दिलाउन सकेकामा खुशी लागेको राससलाई प्रतिक्रिया दिनुभयो । यस्तै भारोत्तोलनमा पहिलो सहभागिता जनाएको भुटान सो इभेन्टमा पहिलो कास्य जित्न सफल भयो । प्रतियोगितामा किन्ले ग्याल्सेनले कास्य पदक जित्नुभएको हो । उहाँ स्न्याचमा ८० र क्लिन एण्ड जर्कमा ९० सहित कूल १७० भार उठाउन सफल ह्ुनुभयो ।
 
आजै भएको महिला ८७ प्लस तौल समूहमा श्रीलङ्काकी तिमाली हापुथेनाले स्वर्ण जित्नुभयो । उहाँले स्न्याचमा ८० र क्लिन एण्ड जर्कमा १०० गरी कूल १८० तौल उठाउनुभयो । नेपालका तर्फबाट नेपाली सेनाकी अस्मिता राईले स्न्याचमा ६० र क्लिन एण्ड जर्कमा ६५ गरी कूल १२५ तौल भारवहन गर्दै रजत दिलाउन सफल हुनुभयो । सो इभेन्टमा पाकिस्तानकी फेरोज परविन स्न्याचमा ५५ र क्लिन एण्ड जर्कमा ६० गरी कूल ११५ तौल उठाउँदै कास्य पदकमा सीमित हुनुभयो ।
 
यस्तै महिला ८७ तौल समूहमा भारतले स्वर्ण, पाकिस्तानले रजत र नेपालले कास्य जित्यो । भारतकी अनुराधा पभुन्नराजले स्न्याचमा ९० र क्लिन एण्ड जर्कमा ११० गरी कूल २००, पाकिस्तानकी रब्बिया राजाकले ६३, ७८ र १४१ तथा नेपालकी मनकुमारी कुमालले ६०, ७६ गरी कूल १३६ तौल उठाउँदै क्रमशः स्वर्ण, रजत र कास्य जित्नुभएको हो  । तनहुँकी कुमालले आठौँ राष्ट्रिय खेलकूदमा रजत जित्नुभएको थियो  ।

पुरुष १०२ केजी तौल समूहमा नेपालका तर्फबाट सन्देश गुरुङले कास्य जित्नुभयो । प्रतियोगितामा पाकिस्तानी उस्मान अम्जाद राठोरले स्वर्ण र बङ्गलादेशका जियारुल इस्लामले  रजत पदक जित्नुभयोे । पाकिस्तानले स्न्याचमा १५० र क्लिन एण्ड जर्कमा १८० गरी कूल ३३० तौल उठाउँदै स्वर्ण जितेको हो  । 

प्रतियोगितामा बङ्गलादेशका इस्लामले स्न्याचमा १०८ र क्लिन एण्ड जर्कमा १४२ गरी कूल २५० भारबहन गरी रजत र नेपालका सन्देशले स्न्याचमा १०० र क्लिन एण्ड जर्कमा १३५ सहित कूल २३५ उठाउँदै कास्य पदक दिलाउनुभएको हो ।   चितवन निवासी सन्देश नेपाल प्रहरीमा आबद्ध हुनुहुन्छ । उहाँ आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिताका स्वर्णधारी खेलाडी हुनुहुन्छ ।

नेपालकी तारादेवी पुनले ७६ केजी तौल समूह र लक्ष्मी वनले ८१ केजी तौल समूहमा कास्य पदक जित्नुभएको छ । महिला ७६ केजी तौल समूहमा बङ्गलादेशकी माविया अख्तरले स्न्याचमा ८० र क्लिन एण्ड जर्कमा १०५ गरी कूल १८५ तौल उठाउँदै स्वर्ण जित्नुभयो । त्यस्तै श्रीलङ्काली बिसी प्रियन्थीले स्न्याचमा ८३ र क्लिन एण्ड जर्कमा १०१ गरी कूल १८४ किलो तौल बहन गरी देशलाई रजत पदक दिलाउनुभयो । बाह्रौँ सागमा समेत कास्य जित्नुभएका नेपालकी तारादेवीले स्न्याचमा ७५ र क्लिन एण्ड जर्कमा ९७ गरी कूल १७२ तौल उठाउनुभएको थियो । 
 
प्रतियोगिताको ७६ केजी तौल समूहमा भारतकी सृष्टि सिंहले स्न्याचमा ८२ र क्लिन एण्ड जर्कमा १०८ गरी कूल १९० भार गरी स्वर्ण र बङ्गलादेशकी जुहोरा खातोन निशाले कूल १६८ किलो तौल उठाउँदै रजत जित्न सफल हुनुभयो । उहाँले स्न्याचतर्फ ७३ र क्लिन एण्ड जर्कमा ९५ तौल उठाउनुभएको हो  । तीन देश मात्र सहभागी सो इभेन्टमा नेपाल प्रहरीमा आबद्ध लक्ष्मी वन स्न्याचमा ६० र क्लिन एण्ड जर्कमा ८० गरी कूल १४० तौल उठाउँदै कास्य दिलाउन सफल हुनुभएको हो । 

प्रतियोगिताको पुरुषतर्पm ८९ केजी तौल समूहमा विकास थापाले २६९ केजी र महिलातर्पm ५९ केजी समूहमा सञ्जु चौधरीले १७१ केजी तौल उठाएर नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्