काठमाडौं। सार्क राष्ट्र श्रीलंकाले यतिबेला चरम आर्थिक संकट व्यहोरिरहेको छ।
संकट यतिसम्म छाएको छ कि कागज र मसी किन्ने पैसा सरकारसँग नभएर परीक्षा रद्द भएका छन्। अभाव भएपछि महँगी बढ्ने भइहाल्यो।
भ्रष्ट प्रशासन र नेता, कर छली, वित्तिय क्षेत्रको गलत व्यवस्थापन तथा कोरोना महामारीका कारण ठप्प पर्यटन व्यवसायका कारण त्यहाँको अर्थतन्त्र तहसनहस भएको हो।
त्यतिमात्र होइन श्रीलंका त्यस्तो देश हो जहाँ निर्यातभन्दा बढी आयात हुन्छ। अर्थात् त्यहाँ उत्पादन मूलक क्षेत्र कम छन् र आयात गरिएका वस्तुले देश धानेको छ।
यतिबेला रुस–युक्रेनको युद्धले पनि त्यहाँको अवस्था धरासायी बनाउनमा मद्दत पुर्याएको छ।
श्रीलंकाले यसक्रममा विदेशी ऋण लिएर देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि खोजेको देखिएको छ। यद्यपी आफ्नो देशले कमाउने भन्दा बढी उ ऋणमा परेको छ। जसकारण श्रीलंकामा समस्या सिर्जना भएको हो।
चरम आर्थिक संकटपछि लगातार त्यहाँका जनता सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्। यहाँ सम्मकी गत बिहीबार राति प्रदर्शनकारीले राष्ट्रपतिको कार्यालयमै पुगेर आक्रमणको प्रयास गरे।
संकट टार्न नसक्ने सरकारको काम छैन भन्दै प्रदर्शनकारी लठ्ठी, हँसिया र भाटा लिएर आक्रमणको लागि तयार भएका थिए। मार्च महिनाको १६ तारिखदेखि प्रदर्शनकारी हिंस्रक बनेका छन्।
यतिबेला श्रीलंकामा खाद्यान्न, इन्धन, विद्युत र ग्यासको अभाव छ। त्यहाँ दैनिक १२ देखि १३ घण्टासम्म लोडसेडिङ छ भने खाद्यान्न तथा ग्यास, इन्धनको लागि घन्टौं लाइन बस्नुपर्छ।
महँगो मूल्यमा सामग्रीहरु किन्न पनि सास्ती छ किनभने त्यहाँ सबै चिजको अभाव छ। मार्च ८ देखि अमेरिकी डलरविरुद्ध श्रीलङ्काली मुद्राको वैधानिक तरलता अनुपात झन्डै ९० अङ्कले अवमूल्यन भएको छ।
सरकारविरुद्ध मानिसहरु आक्रामक बनेपछि त्यहाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएका छन्। धेरै क्षेत्रमा कर्फ्यु नै जारी भएको छ।
मानिसहरु भोकभोकै सडमा आन्दोलन गरिरहेका छन्। औषधि, विजुली, इन्धन तथा खाद्यान्नजस्ता अत्यावश्यक सामग्री नै अभाव भएपछि मानिसहरु आक्रोशित बनेका हुन्।
यसबीचमा श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा नै दिएका छन्। चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो।
तर, प्रधानमन्त्री महिन्द राजापाक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षले भने राजीनामा दिएका छैनन्।
श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको हो।
सिक्नुपर्ने पाठ…
भ्रष्ट प्रशासन र नेताका कारण देशको विकास हुँदैन भन्ने उदाहरण श्रीलंकाले प्रस्ट पारेको छ। कर छली, वित्तिय क्षेत्रको गलत व्यवस्थापनका कारण पनि देशको अर्थतन्त्र डामाडोल हुन्छ।
देशमा उत्पादन मूलक क्षेत्रलाई बढावा नदिँदा पनि अभाव र भोकमरी छाउँछ। श्रीलंकाले विदेशी सामग्री ज्यादै आयात गर्दछ। श्रीलंकको प्रमुख व्यवसाय भनेको पर्यटन हो। उनीहरु पैसा काउँछन् र विदेशबाट किनेर खान्छन्।
तर कोरोना महामारीका कारण पर्यटन व्यवसाय ठप्प भयो। मानिसहरुको आयआर्जनको बाटो ठप्प बन्यो। यसरी उनीहरुको अर्थतन्त्र तहसनहस भयो।
देशमै खाद्यान्न लगायतका सामग्री पुग्दो उत्पादन नभएपछि त्यहाँ सबै कुराको अभाव हुनु स्वभाविक हो। यस क्रममा रुस–युक्रेन द्वन्द्वले महँगी ह्वात्तै बढ्दा श्रीलंका झनै चपेटामा परेको छ।
यसअघि सन् २०१७ मा श्रीलंकाले आफ्नो हम्बनटोटा बन्दरगाह चीनलाई ९९ वर्षको लागि भाडामा दिएको थियो। त्यसबाट प्राप्त १ दशमलब १ अर्ब अमेरिकी डलर श्रीलंकाले विदेशी ऋण तिर्नमा खर्च गरेको छ।
हाल श्रीलंकाको कुल ग्राहस्थ उत्पादनभन्दा उसको ऋण खर्च ११९ प्रतिशतले बढी छ। हरेकवर्ष आफूले कमाएकोमध्ये ८० प्रतिशत रकम श्रीलंकाले विदेशी ऋण तिर्न मै खर्च गर्ने गरेको छ।
विदेशी उत्पादनमा भरपर्दा र आफूले उत्पादनमूलक क्षेत्रलाई बढावा नदिँदा श्रीलंकाका मानिसहरुले दुःख पाएका हुन्। बीबीसी, इन्डियन एक्सप्रेस लगायतका एजेन्सीको सहयोगमा