काठमाडौँ । विश्व प्रजातान्त्रिक युवा सङ्गठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ । साइप्रसमा भएको सङ्गठनको २०औँ अन्तरराष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको संघका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिनुभयो।
संघको प्रतिनिधित्व गर्दै सुन्दर भुसाललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न प्रतिनिधिको रूपमा पठाइएको छ । भुसाल यसअघि सङ्गठनको एशिया प्यासिफिकको उपाध्यक्षसमेत रहनुभएको थियो । यही डिसेम्बर २ देखि ७ गतेसम्म चलेको सम्मेलनमा विश्वका ६३ देशका ९५ युवा सङ्गठन सहभागी थिए।
सङ्गठनमा नेपालको तर्फबाट नेकपा निकट अनेरास्ववियु र युवासङ्घ सदस्य रहेका छन्। नेपालले सम्मेलनमा सन् १९९३ बाट सहभागिता जनाउँदै आएको छ।