विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ११ : ३८


काठमाडौं  । धनुषा, बर्दिया, खोटाङ, दाङ, काभ्रे, बाँके, सुर्खेत र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

धनुषा, नगराईन नगरपालिका–५ गंगुली पुलस्थित सडकमा ज।११ प २९५६ नम्बरको मोटरसाइकल पुलबाट अन्दाजी ३० फिट तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका(२० देबपुरा रुपैठा बस्ने १५ वर्षीय रोशन पासवान र मोटरसाइकलमा सवार १४ वर्षीय बिजय रामको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

बर्दिया, राजापुर नगरपालिका–९ स्थित सडकमा भे।१ त ७१८० नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री सोही नगरपालिका(८ भोगपुर बस्ने ६० वर्षीय कालुराम थारुको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–१० बिजुलेधापस्थित सडकमा को. २ ह ८३४६ नम्बरको अटो अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा अटो चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गा बस्ने ३१ वर्षीय टंक दाहाल खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।

दाङ, घोराही उपमहानगरपालिका–११ खैराचोकस्थित सडकमा रोकी राखेको रा. १ त १९३८ नम्बरको ट्याक्टरको ट्रलीमा रा।२ प ९३५० नम्बरको मोटरसाइकल शुक्रबार राति ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय रेशम वलीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको छ ।

काभ्रे, धुलिखेल नगरपालिका–११ तिरतिरे धारास्थित सडकमा कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट लडेर गम्भीर घाइते भएका झापा तोपगाछी–७ बस्ने ४२ वर्षीय खड्ग नारायण श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, खजुरा गाउँपालिका–८ गुनाना चोकस्थित सडकमा भे ८ प ११५४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय मोहमद जाविर खाँको नर्सिङहोम नेपालगंज हुँदै भारतको लखनउमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत, विरेन्द्रनगर नगरपालिका–११ सिप्रदी गंगामाला मोटर पार्क नजिकै अन टेस्ट लेखिएको लोडरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय टिकाराम घिमिरेको माया नर्सिङहोममा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । लोडर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, कमल गाउँपालिका–७ बाह्रघरे चोकस्थित सडकमा मे. ११ प १२२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही गाउँपालिका बस्ने ५१ वर्षीया ज्ञानदेवि घिमालको दमक लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकको श्रीमान ५२ वर्षीय तुलसीराम घिमालको सोही अस्पतालाम उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्