काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन । उनीहरुबीच शनिबार बिहान फोन वार्ता भएको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
उनीहरुबीच उत्तर कोरियाका कारण कोरियाली प्रायद्धीपको अवस्था झन खराब हुदै गएको भन्दै त्यसका लागि पनि जतिसक्दो चाँडै वार्ता गर्नुपर्नेमा सहमति भएको बताइएको छ । शनिबार बिहान भएको फोनवार्ता यसै विषयमा केन्द्रित रहेको बताइएको छ । यस विषयमा उहाँहरु सहमत पनि हुनुभएको प्राप्त समाचारमा जनाइएको छ । प्रवक्ता जुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली राष्ट्रपति इनलाई फोन गर्नुभएको जानकारी दिए ।
टेलिफोन वार्तापछि उत्तर कोरियाका कारण कोरियाली प्रायद्धीपको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएकोले उत्तर कोरियाको आणविक निशस्त्रीकरणसम्बन्धी प्रतिबद्धताको निरन्तरताका लागि पनि वार्ता गर्नु आवश्यक भएको उनले बताए । हालैमात्र एकजना उत्तर कोरियाली मन्त्रीले पनि यसै आशयको भनाई सार्वजनिक गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईको विरोध गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोईमा दोस्रो चरणको वार्ता भएको थियो ।