तनहुँका महिला जनप्रतिनिधि भन्छन्-उपमा बस्देनौँ, प्रमुखमा दाबी गर्छौँं

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : २०


तनहुँ । गत स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाको सहभागिता ज्यादै न्यून रह्यो। तनहुँको १० स्थानीय तहमध्ये म्याग्दे गाउँपालिकाले मात्र महिला अध्यक्षमा मायादेवी रानालाई पायो । नौ स्थानीय तहमा महिला उपमै सीमित भए।

८५ वडामध्ये ऋषिङ गाउँपालिका–८ मा भविसरा आले वडाध्यक्ष निर्वाचित भइन्। एकाध वडामा खुला तर्फबाट महिला वडा सदस्य निर्वाचित भए। महिला कोटामै सीमित भए । नौ स्थानीय तह र ८४ वडाको प्रमुख पदमा पुरुष नै हावी भए। सबै राजनीतिक दलले महिलालाई प्रमुख पदमा पुगेर नेतृत्व गर्ने अवसर नै दिएनन्।

निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिँदै छ। आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको। यतिबेला देशभर स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधिले माहोल तातिरहेको छ। सम्भावित उम्मेद्‌वारहरूको चर्चा सुरु भएको छ। स्थानीय तह र वडाको प्रमुखमा पुरुषकै चर्चा बढी हुने गरेको छ।

तनहुँका महिला जनप्रतिनिधिले अब उपमा नभएर प्रमुख पदमा उम्मेद्‌वार दिने उद्घोष गरेका छन्। वडासदस्यले वडाध्यक्ष र स्थानीय तहको उपप्रमुखले प्रमुखमा दाबी गर्ने उद्घोष गरेका हुन् । शुक्रबार सञ्चारिका समूह तनहुँले दमौलीले आयोजना गरेको जनप्रतिनिधि महिलाको पाँच वर्षे अनुभव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्लाका महिला जनप्रतिनिधिले वडाध्यक्ष र स्थानीय तहको प्रमुख पदमा दाबेदारी प्रस्तुत गर्ने बताएका हुन्।

घिरिङ गाउँपालिका–२ की वडासदस्य सनम थापाले पाँच वर्षको सिकाइले यसपालिको निर्वाचनमा वडाध्यक्षको दाबी गर्ने बताइन्। ‘घरको समस्या समाधान गर्दै जनताको सेवा गरेका छु । यसपालि वडाध्यक्षमा उम्मेद्‌वारी दिने ह।’ उनी आफू वडाध्यक्ष बन्नलाई योग्य भएकाले दाबी रहने उल्लेख गरिन्।

शुक्लागण्डकी नगरपालिका–९ की वडा सदस्य गीता महतले पनि दयाको पात्र भएर उपमा सीमित नहुने बताइन्। ‘उप मात्र हैनौँ प्रमुख हुन सक्ने क्षमता छ हामीसँग। अघिल्लो निर्वाचनमा दयाको पात्र बनाइयो। यसपालि पार्टीभन्दा फरक भएर क्षमतावान् महिलालाई अवसर दिऔँ’, उनले भनिन्। कार्यपालिका सदस्यसमेत रहेकी महतले पुरुष सरह प्रतिस्पर्धामा उत्रने उनको भनाइ छ।

घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देल घिमिरेले स्थानीय तहमा पुरुषहरू हावी भएको दाबी गरिन्। ‘महिलालाई सहभागी मात्र गराइएको छ। समाज सुध्रिएको छैन। लडाईं धेरै लड्न बाँकी छ। पार्टीले टिकट दिएमा अध्यक्ष भएर काम गर्न सक्षम भएका छौँ। प्रमुखले भन्दा धेरै काम गरेका छौँ। पार्टीबाट अनुमोदन भएर टिकट भएको खण्डमा जनताबाट अनुमोदन भएर निर्वाचन जित्न सकिन्छ भन्ने छ’, उनले भनिन्। जनताको मन जित्ने गरेर गाउँपालिकालाई हाँक्न सक्ने खुबी भएको घिमिरेले दाबी गरिन्।

व्यास नगरपालिकाकी उपमेयर मिरा जोशीले पाँच बर्षको अनुभव र सक्षमताका कारण आफुले मेयरमा दाबी गर्ने बताइन्। ‘चुप लागेर बस्दैनौँ। मेयरको टिकट खासेर पनि लिने हो। मुकविला गर्ने हो। मेयरको आकांक्षी धेरै भएकाले टिकट कसलाई दिने पार्टीकै हातमा छ’, उनले भनिन्। आफूसँगै राजनीति गरेका पुरुषहरु प्रदेश र संघमा पुगेर नेतृत्व गरिरहेकाले उपमेयरमा निर्वाचन लड्ने उनले बताइन्।

समाज अझै पितृसतात्मक भएकाले महिलामैत्री नभएकोमा उनको गुनासो छ । महिलालाइै झोला बोकाएर निर्वाचन प्रचासप्रसारमा प्रयोग भइरहेको बेला प्रमुख या उपप्रमुख महिला हुनैपर्ने बाध्यकारी नियमले भने स्थानीय तहमा महिला सहभागिता बढाएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्