रुस–युक्रेन द्वन्द्वः भाउ आकाशिएपछि अमेरिकाले आफ्नै भण्डारबाट निकाल्न थाल्यो तेल

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १० : २४


काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्।

आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो।

युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कटमाझ बाइडनका त्यस्तो कदमका खबरहरू आउन थालेसँगै तेलको मूल्य घटेको छ।

तर विश्लेषकहरूले दैनिक १० लाख ब्यारलजति तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने बताएका छन्।

यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने बीबीसी संवाददाता बताउँछन्।

तर राष्ट्रपति बाइडनले अमेरिकी तेल आपूर्ति बढाउन थप कदमहरू चालिने बाचा गरेका छन्।

उनले यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि पछिल्लो कदम एउटा सेतुको रूपमा काम गर्ने बताएका छन्।

रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो।

रुसले युक्रेनमा आक्रमण गरेको भन्दै अमेरिकाले रुसबाट तेल र ग्यास ल्याउन बन्द गरेको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस्